वर्ष २०७६ का उत्कृष्ट कलाकार ।

बैशाख ०१, २०७७


सन्तोष केसी

नेपाली चलचित्र क्षेत्रमा गत वर्ष २०७५ भन्दा यो वर्ष २०७६ मा कमै फिल्म प्रदर्शनमा आए, गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष खासै डेब्यू गर्ने नेपाली कलाकारहरुले आश देखाएनन भन्दा फर्क पर्दैन ।
हुन त यो वर्ष पनि थुप्रै नव कलाकारले फिल्म उद्योगमा प्रवेश गरे । तर, उनीहरुको अभिनयले न उनीहरु नोटिस भए न फिल्म नै । उही पूरानै कलाकारकै अभिनयले साख जोगायो भन्दा हुन्छ वर्ष उत्कृष्ट कलाकारको सूचीमा पूरानै नाम दोहोरिने पक्का नै हो ।
१) यो वर्ष उत्कृष्ट अभिनय गर्ने कलाकारको अग्रपङ्तिमा पर्छन अभिनेता विपिन कार्की । विपिनलाई यो वर्षकै हिट कलाकार भन्दा फरक पर्दैन । हुन त यस अघि पनि विपिनले आफूलाई अभिनयमा अब्बल सावित गरेका छन् । वर्ष २०७६ मा चाहे ’जात्रै जात्रा’ होस या हाँस्यकलाकार माथि बनेको फिल्म ’सेल्फी किङ’ । १० किलो सुन भेट्ने फणिन्द्र होस् या हाँस्यकलाकार गोपाल, विपिनले यी दुवै चरित्रमा आफूलाई भर्सटाइल प्रस्तुत गरेका छन् ।
उनकै अभिनयले गर्दा एक पर्दामा हामी विपिनलाई फणिन्द्रको रुपमा विश्वास गर्छौ, अनि अर्को पर्दामा गोपाल । हुन त यसअघि पनि उनले विभिन्न चरित्रमा आफूलाई अब्बल ठहराएका छन् । हरेक चरित्रमा फिट देखिन्छन् विपिन । किनकि उनी आफ्नो चरित्रमा मिहेनत गर्छन् । चरित्रमा डुबेर अभिनय गर्छन् । फरक चरित्रलाई फरक अभिनयले बाँचिदिन्छन् । आफ्नो चरित्रलाई न्याय दिने जीवन्त अभिनय गरेर दर्शकदेखि समीक्षकहरुबाट आफ्नो अभिनयको प्रशंसा बटुल्छन् उनी । यही भर्सटाइल अभिनयका कारण दर्शकमा पनि उनी प्रिय छन् ।

२) दयाहाङ राई यो वर्षको अर्का उत्कृष्ट अभिनेता हुन् । हुन त दयालाई एकै किसिमको अभिनय गर्ने कलाकारको आरोप लाग्ने गर्छ । तर, उनी चरित्रलाई आत्मासाथ गर्ने कलाकार हुन् । यो वर्ष प्रदर्शनमा आएको आप्पा, जात्रै जात्रा होस् या कबड्डी कबड्डी कबड्डी, उनले आफ्नो चरित्रलाई न्याय दिने अभिनय गरेका छन् । कबड्डीको तेस्रो सिरिज गर्दासम्म पनि उनको काजी पात्र जीवन्त लाग्छ । उनको अभिनय, हाउभाउ चरित्रसंगत नै छन् । ’आप्पा’ फिल्मको बिर्खे पात्रमा पनि दयाको अभिनय प्रशंनीय छ । बिर्खे पात्रकै अभिनयका कारण पनि फिल्मलाई केही हदसम्म माथि उठाएको छ । यद्यपि निर्देशक छनौटमा दया यस फिल्ममा पनि चुकेका थिए । स्क्रिप्ट र निर्देशक छनौटमा ध्यान नदिए दयाको अभिनय बालुवामा पानी हाले जस्तो मात्र देखिनेछ ।

३) अभिनेत्रीहरुमा सुरुक्षा पन्त यो वर्षकै उत्कृष्ट अभिनय गर्ने कलाकारमा पर्छिन् । ’धनपति’बाट दर्शकमा नोटिस भएकी उनी अभिनित फिल्म ’आमा’ यो वर्ष प्रदर्शनमा आयो ।अभिनयका हिसाबले उनको करियरकै अहिले सम्मको राम्रो काम गरेको फिल्म हो यो । जीवन्त अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेत्री सुरक्षा पनि चरित्रमा मिहेनत गर्छिन् । फिल्मकै लागि उनले आफ्नो कपालसमेत मुण्डन गरिन् । उनको चौतर्फी चर्चा पनि भयो । आफ्नो चरित्रलाई सटिक प्रस्तुत गर्न कपालसमेत काट्न पछि परिनन् । यसबाट पनि थाह पाउन सकिन्छ उनी चरित्रलाई लिएर कति गम्भीर हुन्छिन् भन्ने ।

४) अभिनयकै कारण चिनिने अर्को नाम हो, केकी अधिकारी । यो वर्ष उनी अभिनित फिल्म ’छ माया छपक्कै’ प्रदर्शनमा आयो । उनले जलको भूमिकालाई फिल्ममा राम्रैसँग निभाइन् । सन् २०१० मा ’स्वर’फिल्मबाट डेब्यू गरेक उनी जीवन्त अभिनय गर्ने कलाकारमै पर्छिन् । तर, ’घामपानी’देखि यता फिल्महरुमा नोटिस हुने अभिनय उनले गरेकी थिइनन् । हाँस्यकलाकारहरुको जम्बो टोलीमा पनि आफ्नो अभिनयकै कारण ’छ माया छपक्कै’ मा आफूलाई बुलन्द ठहराइन् ।

५) सामान्यतया यस्त सुचीहरुमा परम्परागत रुपमा नायक वा नायिका भनिने अथवा फिल्ममा केन्द्रीय पात्रका रुपमा देखिने कलाकारको मात्रै चर्चा गरिन्छ । तर, कुनै कलाकारको क्षमता उसको भूमिकाको लम्बाई वा चौडाइले होइन, उसको अभिनयको गहिराइमा नापिनु पर्छ । यसरी नाप्ने हो भने यो सुचीमा पर्ने २०७६ कि कलाकार हुन्( सरिता गिरी । नाटकबाट फिल्ममा आएका सौगात मल्ल, दयाहाङ राई र खगेन्द्र लामिछानेजस्तै सरिता गिरी पनि कुशल कलाकार हुन् । उनले ठूलो पर्दाका धेरै फिल्ममा सहायक भूमिकामा आफूलाई अब्बल सावित गरिसकेकी छन् । २०७६ मा आएको ’आमा’ मा पनि उनले सानो भूमिकामा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिन् ।

६) सरिता गिरीजस्तै नाटकले नेपाली फिल्मलाई दिएको अर्का कलाकार हुन्( प्रकाश घिमिरे । आफ्नो स्वभाविक अभिनयका कारण दर्शकको मन जित्दै आए पनि चर्चाभन्दा थोरै टाढा बस्ने घिमिरे यस वर्ष पनि ’जात्रैजात्रा’ र ’छ माया छपक्कै’ दुवै फिल्ममा अभिनय गरे । बाबु, दाजु र ससुराजस्ता फिल्मको कथामा अति आवश्यक तर सहायक भूमिकामा पोखरेली घिमिरे पछिल्लो समय जमिरहेका छन् । नवीन सुब्बाको टेलिफिल्म ’दलन’मा धम्मरेबाको भूमिकामा देखिएपछि नै चिनिन थालेका घिमिरले ’जात्रा’मा वर्षा राउतको पिताको भूमिकामा छाप छोडेका थिए । आदर्शवादी राजनीतिबाट प्रेरित इमान्दार कार्यकर्ताका रुपमा ’छ माया छपक्कै’ मा यस वर्ष प्रकाश स्मरणीय रहे । त्यसैले यि कलाकार लाई यो बर्ष २०७६ का उत्कृष्ट कलाकार भनिएको हो ।