मलाई अचेल मान्छे सगं डरलाग्छ (कबिता )

बैशाख ०१, २०७७


गोबिन्द प्रसाद रिजाल (प्रमुख जिल्ला अधिकारि, दाङ )

मलाई अचेल
मान्छेसंग डर लाग्छ
अर्थात
मुकुण्डो लगाएका
मान्छेसंग ।

परिचित पनि
परिचित जस्ता छैनन
आफन्त पनि
वैरी जस्ता देखिन्छन
सबका सब छद्म भेषमा
हिड्न थालेपछि
साच्चै मलाई
मान्छेदेखी डर लाग्छ ।

बरू बाघ भेटिए
यसो भलाकुसारी हुन्थ्यो
क्षेम कुशल सोधिन्थ्यो
हात्ती भेटिए नि
संगै लम्किनु हुन्थ्यो गन्तव्यमा
सर्प, बिच्छि, बारूलो
जे भेटिए पनि हुन्छ
तर मान्छे नभेटिए हुन्थ्यो
किनकि
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

होईन कहिलेसम्म
हेर्न पर्ने हो
नाक मुख नभएका
मान्छेहरू
अनुहार नभएका मान्छेहरू
एउटा सग्लो मान्छे
भेट्न पनि कति दिन, महिना
वर्ष कुर्नुपर्ने हो
अनुहार नभएका मान्छेहरू
मात्र देखेर होला
सत्य, मरिजाऊ
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

अनुहार नभएका मान्छेहरू
काल हुन कि यमराज हुन
किटाणु हुन कि भाईरस हुन
शत्रु हुन कि मित्र हुन
कसरी छुट्टयाउनु र
यिनै नाङ्गो आँखाको
प्रयोगशालाबाट ।

त्यसैले मुकुण्डोधारी मान्छेहरू
काल जस्तै देखिन्छन
किटाणु जस्तै देखिन्छन्
जिउँदा भाईरस जस्तै देखिन्छन
मान्छेसँगको विश्वास टुटेपछि
धरोधर्म
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।

त्यसैले त,
म पनि गुमनाम छु अचेल
गुप्तवासमा छु
यस्तो लाग्छ
बरू एउटा भुत भेटियोस
एउटा राक्षस भेटियोस
ठिकै छ
तर मान्छे नभेटियोस
किनकि
रामो राम
अचेल मलाई
मान्छेसंग डर लाग्छ ।