सामाजिक कार्यमा नायक पलको अग्रसरता

बैशाख ०३, २०७७


 

शिव पुन

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको आतंकका कारण नेपाल पनि अघिल्लो वर्षको चैत ११ गतेदेखि लकडाउनमा छ र आज हामी लकडाउनको २३ औं दिनमा छौं। लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । र त्यसबाट नेपाली सिनेमा क्षेत्र पनि अछुतो पक्कै छैन। सरकारले बैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि जेठअघिका अधिकांश फिल्मको प्रदर्शन स्थगित भएका छन् ।त्यस्तै फ्लोरमा रहेका फिल्मको छायांकन रोकिएको छ,फ्लोरमा निस्कन र औपचारिक घोषणाका लागि तयार भएर बसेका सबै फिल्महरु पनि रोकिएका छन् । कोरोना भाइरस(कोभिड-१९)को महामारीका कारण फिल्मको काम ठप्प भएसँगै ज्यालादारीमा काम गर्दै आएका प्राविधिकहरुले जीवन चलाउन गाह्रो भएको बताएका छन् । फिल्म प्राविधिक संघका अध्यक्ष पुस्कर लामा केही प्राविधिकलाई बिहान बेलुकाको छाक टार्न नै गाह्रो भएको बताउँछन् । यसरी अप्ठ्यारोमा परेका पर्दा पछाडीका हिरो अर्थात् फिल्म प्राविधिकलाई केही फिल्मकर्मीबाट सहयोगको घोषणा भएको छ।जसमा नायक पल शाह,दीपक-दीपाको समूह,नायिका वर्षा सिवाकोटी,वितरक गोपालकाजी कायस्थ,निर्देशक कृष्ण चापागाईं लगाएत रहेका छन्।


जसमध्ये अहिलेसम्म सर्वाधिक ५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेका युवा स्टार पल शाहले नयाँ वर्ष २०७७ लाई लक्षित गर्दै आफुले बोलेको वाचा पूरा गरेका छन्। नायक पलले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको रोहवरमा ५ लाख बराबरको राहत २ सय १ प्राविधिकको परिवारलाई आफैले वितरण गरेका छन्। नायक पलले पाँच हजार किलो चामल, चार सय किलो तेल, दुई सय दर्जन बिस्कुट,पाँच सय कालो दाल, चार सय किलो आटा, दुई सय किलो नुन, दुई सय पोका मस्सेउरा, चार सय वटा साबुन लगाएतका सामाग्री वैशाख १ र २ गते प्राविधिकलाई वितरण गरेका छन् ।


प्राविधिक संघका अध्यक्ष लामाका अनुसार अति विपन्न अवस्थामा रहेका प्राविधिकको संख्या करिब पाँच सय रहेको र ती मध्ये केहीलाई यसअघि नै राहत वितरण भैसकेको बताए।साथै, उनले बाकी प्राविधिक परिवारलाई पनि क्रमशःराहत वितरण गर्दै जाने बताएका छन्।

लेखक चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष हुन् ।