चलचित्र उद्योग थलिन आँट्यो, करोडौं लगानी जोखिममा

जेठ १७, २०७७


विजय आवाज

उदाहरण १ : कोरोनाको त्रास र लकडाउनका कारण चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ निर्धारित मितिमा रिलिज हुन सकेन । चलचित्र हलमा आएको भए निर्माता सुदर्शन थापाले यतिबेलासम्म नाफाघाटा भोगिसकेका हुन्थे । तर, रिलिज रोकिएपछि उनी ठूलो समस्यामा परेका छन् ।

सुदर्शनले चलचित्रका लागि ३० लाख हाराहारीको खर्च पब्लिसिटीमा गरिसकेका थिए । अब फेरि उनले चलचित्र रिलिज गर्दा शून्यबाटै पब्लिसिटी सुरु गर्नुपर्नेछ । साढे २ करोडभन्दा माथिको बजेटमा बनेको यो चलचित्रमा खर्च अझै थपिने निश्चित नै छ ।

उदाहरण २: नेपालमा सबैभन्दा सफल निर्माताको रुपमा चिनिएका दीपकराज गिरीले आफ्नो हिट सिक्वेल ‘छक्का पन्जा’ यो वर्ष नबनाउने निर्णय गरे । बरु, उनी अरू निर्मातासँग सहकार्य गर्दै नयाँ चलचित्र बनाउने र यो वर्षको अन्त्यमा रिलिज गर्ने तयारीमा लागेका छन् । यो वर्ष चलचित्र बनाउँदा र रिलिजको  जोखिम हुने बुझाइ उनको छ ।

यी दुई उदाहरण मात्र हुन् । कोभिड-१९ का कारण ठप्प रहेको नेपाली चलचित्र क्षेत्रमा धेरै निर्माताहरू पलायन हुनुपर्ने अवस्था आएको छ । यसै पनि समस्याग्रस्त रहेको यो उद्योग यस वर्ष भने नराम्ररी थलिने संकेतहरू देखिएका छन् ।

एउटा राम्रो चलचित्र निर्माणका लागि दुई करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ । यति लगानी बजारबाट उठाउनु निर्माताको लागि फलामको चिउरा बराबर हो । यसवर्ष लामो समय नै दर्शक हलमा नआउने आकलन गरिएकाले निर्माणाधीन वा निर्माण सकिएका चलचित्रहरू डुब्ने अवस्थामा छन् । निर्माणको लागि तयार भएका धेरै निर्मातापछि हटेका छ भने कतिपय यो वर्ष चलचित्र रिलिज नगर्ने मुडमा छन् ।

पाइपलाइनमा रहेका फिल्म

‘म यस्तो गीत गाउँछु-२’ पछि चलचित्र ‘निरफूल’, ‘लक्का जवान’, ‘चपली हाइट’ ३, ‘प्रेमगीत ३’, ‘माइकल अधिकारी’, ‘हिजो आजका कुरा’, ‘लप्पन छप्पन-२’, ‘हिरो रिटन्र्स’, ‘सम्झना बिर्सना’ चैत्र र वैशाखमा रिलिज हुने लाइनमा थिए । तर, यी सबै चलचित्र निर्धारित मितिमा रिलिज नहुने पक्का भइसकेको छ । ‘म यस्तो गीत गाउँछु-२’ बाहेक अन्य चलचित्रका निर्माताले भने प्रचारमा रकम खर्च गरिसकेका थिएनन् ।

चलचित्र ‘चपली हाइट-३’का निर्माता अर्जुन कुमार भन्छन्,- ‘हुन त मैले चलचित्र रिलिज नहुँदा घाटा ब्यहोरेको छैन । तर, पनि करोड बढी रकम लगानी हुँदा कुनै न कुनै रुपमा घाटा त लागिहाल्छ । चलचित्र दशैं अगाडि रिलिज गर्ने सम्भावना नै छैन । यसैले, अहिले म पर्ख र हेरको अवस्थामा छु ।’

तयारी अवस्थामा रहेका चलचित्रहरूलाई नयाँ रिलिज मिति तोक्नुपर्ने हुन्छ । तर, यो वर्ष हलिउड र बलिउडका सबै चलचित्र स्थगित भएकाले पनि नेपाली चलचित्रले कि त राम्रो डेट नै पाउने छैन । पाइहालेको खण्डमा पनि उनीहरूले विदेशी चलचित्रसँग भिडन्त गर्नुपर्ने निश्चित छ ।

छायांकनमा जाने फिल्म न्यून

निर्देशक सुरेन्द्र पौडेल चलचित्र ‘बेञ्जो’ को छायांकनका लागि तयार थिए । चलचित्रको सबै सेटअप सकिएको थियो । तर, छायांकनमा जाने तयारी गर्दैगर्दा लकडाउन सुरु भयो ।

पौडेल भन्छन्- ‘हामी लकडाउन खुल्नेबित्तिकै छायांकनमा जाने तयारीमा त छौँ । तर, अवस्था के हुन्छ भन्न अझै सकिँदैन । पहिला छायांकन सकौँ अनि मात्र रिलिजका विषयमा सोचौँला ।’

सुरेन्द्रको जस्तै अवस्था निर्माता रवीन्द्र सिंह बानियाँको पनि छ । ‘जात्रै जात्रा’का निर्माता बानियाँ भन्छन्- ‘हामी हतारमा चलचित्रको छायांकन गर्ने सोचमा छैनौँ । माहोल चाँडै सामान्य भयो भने नयाँ वर्षलाई लक्षित गरेर चलचित्र बनाउने सोच छ । तर, अहिलेसम्म पर्ख र हेरको अवस्था हो ।’

लकडाउन खुले पनि दर्शक हल गइहाल्ने परिस्थिति नभएकाले चलचित्र उद्योगमा कोरोनाको असर गम्भीर र दीर्घकालीन हुने देखिएको छ । यो क्षेत्रमा लागेर जीवननिर्वाह गरिरहेका धेरैको रोजगारी गुम्न सक्छ
चलचित्र उद्योग थलिन आँट्यो, करोडौं लगानी जोखिममा

यदि यो वर्ष चलचित्र बनाउन नसके नयाँ कथामा काम गर्ने उनले बताए । अर्को वर्षचाहिँ २ वटा चलचित्र निर्माण गर्ने योजना बानियाँको छ ।’

मह जोडीलाई लिएर प्रदीप भट्टराइले निर्देशन गर्ने भनिएको चलचित्रको रिलिज मिति दशैंलाई तोकिएको थियो । कथा फाइनल भइसकेको यो चलचित्र अब यो वर्ष रिलिज हुने सम्भावना कम देखिएको छ ।

चलचित्र ‘नाई नभन्नु ल-६’ छायांकनका लागि तयारी गर्दै गरेका निर्देशक विकासराज आचार्य अब कहिलेदेखि चलचित्रको काम हुन्छ भनेर अनुमान गर्न नसकिएको बताउँछन् । यद्यपि, उनी साउनदेखि चलचित्रको छायांकन सुरु गर्ने सोचमा अझै छन् ।

विकास भन्छन्-‘चलचित्रको छायांकन साउनदेखि सुरु गर्ने योजना त छ । तर, लकडाउन खुलेपछि पनि छायांकनका लागि माहोल हेर्नुपर्ने हुन्छ । काम सकेको खण्डमा यो वर्षको अन्तिममा नभए अर्को वर्ष रिलिज गर्ने योजना छ ।’

चिन्ता ओभरसिजको

महँगो लगानीमा चलचित्र बनाउने निर्मातालाई नेपालभित्रको अवस्था मात्र सामान्य भएर हुँदैन । विदेशी बजारबाट रामो रकम कमाउने निर्माताहरू ओभरसिज बजारलाई हेर्नुपर्ने तर्क गर्छन् । अन्य देशको अवस्था सामान्य नभएमा चलचित्रको लगानी उठाउन मुस्किल पर्ने उनीहरूको बुझाइ छ ।

निर्माता दीपकराज गिरी भन्छन्, ‘हामी लगानीको ठूलो बजार गुमाउन चाहँदैनाँै, त्यसैले यो वर्ष छक्का पन्जा-४ निर्माण नगर्ने निर्णय गरेका छौँ ।’

दीपकको जस्तै तर्क अन्य केही निर्माताको पनि छ । ओभरिसजबाटै लगानीको ३० देखि ५० प्रतिशत कमाउने निर्माता अमेरिका, अस्ट्रेलियालगायत देशमा मनोरञ्जनका लागि वातावरण नबनेसम्म चलचित्र बनाउने र रिलिज गर्ने सोचमा छैनन् ।

निर्माणाधीन फिल्मको बजेट बढ्यो

चलचित्र ‘ए मेरो हजुर-४’को छायांकन लकडाउन अगाडि ३५ प्रतिशत सकिएको थियो । अहिले यो चलचित्रको सम्पादन कार्य भइरहेको छ । चलचित्रका निर्माता सुनिलकुमार थापा भन्छन्-‘हामी अहिलेसम्म पूर्वनिर्धारित रिलिज मितिअनुसार नै रिलिज गर्ने सोचमा छौँ । दशंैमा हामीले चलचित्र रिलिज गर्ने घोषणा गरेका थियौं, यही मितिमा नै चलचित्र ल्याउन सकिन्छ भन्ने लागेको छ ।’

लकडाउनको समयमा चलचित्रको विषयलाई अझै कसिलो बनाउन र सम्पादनमा ध्यान दिएर काम गर्न पाइएको उनले बताए ।

‘हामीलाई त कुनै न कुनै कोणबाट लकडाउनले फाइदै गरेको छ भन्ने लाग्छ,’ सुनिलले भने । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत अभिनित यो चलचित्रलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् ।

चलचित्र ‘२ नम्बरी’ को छायांकन पनि करिब ३५ प्रतिशत सकिएको थियो । लकडाउनका कारण काम रोकिएको यो चलचित्रलाई लकडाउनलगत्तै छायांकनमा लैजाने योजना निर्माता किरण नेपालीको छ । किरण भन्छन्- ‘चलचित्रको बजेट करिब ३५ लाख बढ्ने निश्चित छ । हामीले चलचित्रको छायांकन सुरु गर्दा कतै मकै नै थिएन । अहिले मकै नै मकै छ । लोकेसनमै जर्क आउने भएकाले फेरि छायांकन सुरु गर्नुपर्ने हुन्छ । करिब ३० प्रतिशत दृश्य फेरि रिसुट गर्नुपर्ने हुन्छ ।’

यो चलचित्रलाई जनैपूणिर्मामा रिलिज गर्ने योजना निर्माण पक्षको थियो । तर, अब फागुन वा चैत्र अगाडि चलचित्र रिलिज गर्न नसकिने निर्माता नेपाली बताउँछन् ।

चलचित्रको लागि प्रयोग भइरहेका उपकरणहरूका लागि फेरि पैसा खर्च गर्नुपर्ने उनले बताए । छायांकनरत अन्य चलचित्रहरू ‘परदेशी-२’, ‘गुञ्जन’ लगायतले पनि यो समस्या भोग्नेछन् ।

रोजगारी जोखिममा

दीपकराज गिरी, रवीन्द्र सिंह बानियाँ जस्ता चलेको ब्यानरका निर्माताले नै यो वर्ष चलचित्र नबनाउने बताइरहँदा अन्य नयाँ निर्माताले यो वर्ष चलचित्रमा लगानी गर्न सक्ने अवस्था कम छ । यसले चलचित्र क्षेत्रमा धेरैको रोजगारी गुम्ने अवस्था आउन सक्छ ।

चलचित्रलाई नै जीवन धान्ने मुख्य पेशा बनाएका प्राविधिक, कलाकार मात्र होइन, हलहरू पनि प्रभावित हुनेछन् । यसले, चलचित्रसँग जोडिएका हरेक विधामा ठूलो समस्या पर्नेछ । निर्माण भएका चलचित्रलाई पनि लगानी उठाउन धौधौ हुने अवस्था छ । किनकि लकडाउन खुले पनि तत्काल दर्शक हल गइहाल्ने मनस्थितिमा छैनन् । साथै, विदेशमा चलचित्र देखाएर पैसा उठाउने अवस्था पनि छैन ।