जातीय मतभेद अन्त्य नभएसम्म देशको प्रगतिको बाटो ओझेलमा पर्ने : हमाल

जेठ १९, २०७७


नायक राजेश हमालले भिडियोमार्फत् आफ्ना भनाइहरू सार्वजनिक गर्न थालेका छन्। कोरोना भाइरसको विषयमा होस् या सरकारले नयाँ नेपालको नक्सा सार्वजनिक नै गरेपछि किन नहोस्, नायक हमालले फेसबुकमा भिडियोमार्फत् नै आफ्नो भनाइ सार्वजनिक गरेका थिए।

उनै, हमालले जाजरकोट घटनाको विषयमा आफ्नो भनाइ सार्वजनिक गरेका छन्। हमालले भनेका छन्–‘कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिले जात, धर्म, समुदाय, वर्गको आधारमा विभेद गर्ने अधिकार छैन। यदि कुनै व्यक्तिले यस्तो सोचले विभेद गर्छ भने ऊ कायर हो।’

हमालले भने–‘जातीय विभेदलाई हामीले निरन्तर दिइराख्यौं र यसलाई जरैदेखि उखाल्न सकेनौं भने यसले समाजलाई अगाडि बढ्न दिँदैन ।’

हमालले, यस्तो जडबाट जन्मिएको फोहोरी राजनीतिले राष्ट्रको हित हुन नसक्ने पनि बताएका छन्। नायक हमालले नेपालीहरूमा रहेको आपसी भाइचारलाई निरन्तरता दिन आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

समाजमा जरो गाडेका कु-विचारलाई हटाएको खण्डमा राजनीति पनि शुद्ध हुने उनको तर्क छ ।

उनले नेपाली समाजमा विषको रुपमा रहेको जातीय प्रथा निर्मुल गर्न आवश्यक रहेको पनि औंल्याए ।
जातीय मतभेद अन्त्य नभएसम्म देशको प्रगतिको बाटो ओझेलमा पर्ने बताउँदै अभिनेता हमाल थप्छन्, ‘अहिलेको समयमा जातको आधारमा कुनै व्यक्ति वा समुदायले अन्याय, अत्याचार र अपराधिक क्रियाकलाप गर्छ भने ऊ राष्ट्रको कानुन बमोजिम कडाभन्दा कडा सजायको भागिदार हुन आवश्यक छ ।’ लकडाउनका कारण घरभित्रै सीमित भएका हमालले पछिल्लो समय भिडियो सन्देशमार्फत् विभिन्न विषयमा आफ्ना विचार व्यक्त गर्दै आइरहेका छन् ।