बोर्ड अध्यक्षका लागि भुवन, दयाराम र राजेशको नाम सिफारिस

जेठ २१, २०७७


चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संकृतीकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो । बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए ।

१० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ ।

मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराइको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ । अहिलेको विषम परिस्थितीमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ती गर्न आवश्यक छ ।

समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरु नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन् । तर, चलचित्र विकास बोर्डको अध्यक्ष हुने व्यक्तिका लागि कार्यकाल सहज भने छैन ।

चलचित्र क्षेत्र नै पछाडि धकेलिएको अवस्था बोर्ड अध्यक्षको टाउकोमा जिम्मेवारीको ठूलो सूची छ ।