हल खुलेपछि तत्काल के चलाउने ? निर्माता भन्छन्–‘जोखिम मोल्दैनौं’

जेठ २४, २०७७


हल खुलेपछि तत्काल के चलाउने ?
हल खुलेपछि तत्काल हलमा के चलाउने ? यो विषयमा हल सञ्चालकहरूले पनि सोच्नुपर्ने अवस्था छ । किनकि हल खुल्नेबित्तिकै शतप्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्ने अवस्था हुँदैन । अर्कोतिर रिलिजका लागि पालो कुरेर बसेका महँगो बजेटका चलचित्र निर्माताले चलचित्र रिलिज गर्ने अवस्था पनि सिर्जना हुँदैन।

हल खुल्नेबित्तिकै सामाजिक दुरी कायम गरेर सञ्चालन गर्दा ५० प्रतिशतभन्दा कम अकुपेन्सीलाई नै शतप्रतिशत मानेर चलचित्र देखाउनुपर्ने हुन्छ । यो विषयमा चलचित्र संघले पनि नसोचेको होइन । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान भन्छन्–‘हल खुल्नेबित्तिकै हामीले शतप्रतिशत अकुपेन्सीमा दर्शक हलमा प्रवेश गराउन मिल्दैन । सामाजिक दुरी कायम गरेर हल चलाउँदा हल सञ्चालकले कमाइ कसरी गर्ने ? सरकारले पनि हल सञ्चालकलाई बेवास्ता गरेको छ ।’

हल खुलेपछि नयाँ चलचित्रको संकट हललाई पर्न सक्छ । किनकि जोखिम मोलेर आफ्नो महँगो लगानीको चलचित्र चलाउन निर्माताहरू तयार छैनन्।

लगानी सुरक्षित हुने ग्यारेन्टी नभएसम्म चलाउँदिनः सुदर्शन थापा
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ लकडाउनका कारण सबैभन्दा बढी समस्यामा परेको चलचित्र हो । रिलिजको एक साता अगाडि पोस्टपोन्ड गर्नुपर्दाको पीडा निर्माता तथा निर्देशक सुदर्शन थापालाई मात्र थाहा होला । तर सुदर्शनले आफूले हल खुल्नेबित्तिकै चलचित्र नचलाउने बताए ।

उनले भने–‘कि त सबै हल सञ्चालक मिलेर मेरो लगानी सुरक्षित हुने वातावरण बनाइदिनुपर्‍यो । होइन भने हलमा दर्शक पहिलेकै जसरी आउने वातावरण नबनेसम्म म चलचित्र रिलिज गर्दिनँ । लभस्टोरी कथामा बनेको चलचित्र भएकाले पनि मेरो कथा पुरानो हुँदैन ।’

दुई करोडभन्दा बढी लगानीमा बनेको यो चलचित्रका निर्माताले लगानी सुरक्षित गर्न मात्र पनि सही समय पर्खिनुपर्ने हुन्छ । यसैले ‘म यस्तो गीत गाउँछु २’ हल खुल्नेबित्तिकै रिलिज नहुने पक्का छ ।

मैले व्यापारका लागि फिल्म बनाएको हुँः किरण केसी
चलचित्र ‘लक्का जवान’ गत वर्षको चैत्र २१ गते रिलिज गर्ने तयारी निर्माता किरण केसीको थियो । तर लकडाउनका कारण यो चलचित्र रिलिज भएन । चलचित्रका निर्माता तथा कलाकार किरण केसीले भने–‘म चलचित्र चलाउने सही वातावरण नभएसम्म रिलिज गर्दिनँ । मैले चलचित्र व्यापार गर्न बनाएको हुँ । त्यसैले जोखिम मोलेर चलचित्र रिलिज गर्न सक्दिनँ ।’

किरणले हल खुल्नेबित्तिकै पुराना चलचित्र चलाएर दर्शक हलसम्म तान्ने वातावरण बनाउनुपर्ने बताए ।

हिन्दी रिलिजको पनि छैन टुङ्गो
नेपालमा चलचित्र भवनहरू खुलेपछि विदेशी चलचित्र चलाएर दर्शक तानिहाल्ने अवस्था पनि छैन । किनकि बलिउड स्टारहरूको चलचित्र रिलिज हुन अझै केही महिना कुर्नुपर्ने हुन्छ । भारतमा पनि हल सञ्चालनमा आउन अझै तीन महिना लाग्ने देखिन्छ ।

हलमा दर्शक आउने क्रम नबढेसम्म बलिउडका ठूला फिल्मका मेकरले पनि चलचित्र रिलिज गरिहाल्ने अवस्था छैन । साना बजेटका चलचित्रले नेपाली हलहरूलाई ठूलो राहत दिँदैन । यस्तो अवस्थामा हल खुलेसँगै के चलाउने भन्ने समस्या हल सञ्चालकहरूलाई पर्न सक्छ ।

यो विषयमा चलचित्र निर्माता संघ र चलचित्र संघका पदाधिकारी मिलेर सबैलाई राहत हुने तरिकाले निर्णय गर्न आवश्यक छ।