सविन र रेखाको ‘हिरो रिटर्न्स’ टीभीमा रिलिज हुने

जेठ २६, २०७७


नायक सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’ निर्माण भएको केही बर्ष भयो । तर, यो चलचित्रलाई हलमा रिलिज गर्न सविनले सकेनन् । यो चलचित्रको प्रदर्शन मिति बैशाखको अन्तिम सातालाई तोकिएको थियो ।

तर, लक डाउनका कारण यो चलचित्र निर्धारित समयमा पनि रिलिज हुन सकेन । बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि अब यो चलचित्रको निर्माणपक्षले चलचित्रलाई अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको छ ।

आशिष भेटवालको निर्देशनमा तयार भएको यो चलचित्र अब डीस होमबाट रिलिज हुने भएको हो । जेठको ३० गतेबाट यो नयाँ चलचित्र टेलिभिजनमा हेर्न सकिनेछ ।

यो चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका छ । एक्सन र लभ स्टोरी कथामा बनेको चलचित्रमा सविनले ठूलै अपेक्षा गरेका थिए । तर, अब यो चलचित्रलाइ दर्शकले घरमै बसेर हेर्न पाउने भएका छन् ।

यसअघि, हलमा रिलिज नगरि चलचित्र ‘कोपिला’लाई सिधै डिसहोमबाट रिलिज गरिएको थियो ।