५६ वर्षका राजेश हमाललाई फर्केर हेर्दा

जेठ २८, २०७७


२८ जेठ, नेपाली फिल्मका सुपरस्टार राजेश हमाल  (मंगलवार) बाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् । तीन दशकदेखि फिल्म क्षेत्रमा सक्रिय हमालले २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । नेपाली फिल्ममा ‘महानायक’ को रुपमा परिचित उनले २०४८ सालमा प्रदर्शनमा आएको फिल्म ‘युगदेखि युगसम्म’ बाट फिल्म करिअर सुरु गरेका थिए । आफ्नै मामा स्वर्गीय दीपक रायमाझीले निर्देशन गरेको यो फिल्मपछि हमालले आफ्नो करिअर कहिल्यै फर्केर हेर्नुपरेन ।
उनी अभिनीत ‘हामी तीन भाइ’, ‘देउता’, ‘अल्लारे’, ‘भाउजु’, ‘अजम्बरी नाता’, ‘पालेदाई’, ‘आशीर्वाद’ लगायत २ दर्जन बढी फिल्म सुपरहिट छन् । धेरै निर्मातालाई धनी बनाएका उनका एकाधबाहेक कुनै फिल्म समीक्षकको नजरमा उत्कृष्ट ठहरिन सकेनन् । करिअरको उत्कर्षमा रहँदा संख्यात्मक अभिनयमा जोड दिएका हमाललाई आफू अभिनीत ‘बसन्ती’ र ‘देवता’ फिल्म मनपर्छ । काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाहा गरेका उनलाई नेपाली फिल्ममा ‘बौद्धिक नायक’ को रुपमा पनि चिन्ने गरिन्छ । आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका अभिनेता हमालले कक्षा ८ सम्मको शिक्षा काठमाडौंमा रहेको सेन्ट जेभियर स्कूलबाट गरेका थिए ।
सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका उनले एक वर्षमा औषत १० देखि १२ वटा फिल्ममा अभिनय गर्ने गर्दथे । सन् १९९४ मा उनले १६ वटा फिल्ममा अभिनय गरेका थिए । उनले राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
उनको रिल लाइफसँगै लभ लाइफ पनि निकै रोमान्चित छ । करिश्मा मानन्धर, निरुता सिंहलगायत धेरै नायिकाहरुसँग उनको नाम जोडिएको थियो । तर, ५० वर्षको उमेरमा उनले प्रेमिका मधु भट्टराईलाई जीवनसाथी बनाए । विवाह गर्न ढिलाई गर्दा कहिले विवाह गर्ने भन्ने प्रश्नले दिकदार भएका हमाल केही वर्षयता पिता कहिले बन्ने भन्ने प्रश्नको सामना गरिरहेका छन् ।
उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘शकुन्तला’ हो । यसमा उनले एक महिलाको भूमिका निर्वाहा गरेका थिए । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनी फिल्म छनोट गर्न हतारिएका छैनन् । अफर आएका फिल्महरु नकारेर बसेका हमाल अब संख्या बढाउन फिल्म नगर्ने सोचमा छन् । उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि लामो समयदेखि चलिरहेको छ ।