लकडाउन लम्बिँदै गएपछि सिनेमा घरको विकल्पमा भरपर्दो डिजिटल प्लेटफर्म खोज्दै निर्माता/निर्देशक

जेठ ३१, २०७७


काठमाडौँ — लकडाउनले गर्दा प्रत्यक्ष मारमा परेका फिल्महरुका प्रदर्शन अझै अलमलमा छन् । कोरोना महामारीले गर्दा हलिउडदेखि बलिउडका फिल्म प्रदर्शन मिति पछाडि धकेलिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन अनिश्चित हुँदै गएको छ । यस्तो अवस्थामा बलिउडका केही फिल्मले प्रदर्शनका लागि डिजिटल माध्यम रोजेका छन् ।

अक्षय कुमारको ‘लक्ष्मी बम्ब’देखि अमिताभ बच्चनको ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने पक्का भइसकेको छ । लकडाउनले असर पारेको नेपाली फिल्म उद्योगमा पनि पछिल्लो समय डिजिटल प्लेटफर्मबारे गाइँगुइँ सुनिन थालेको छ । के नेपालमा डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन सम्भव छ त ?

‘अवश्य पनि सम्भव छ । हामीसँग डिजिटल प्लेटफर्म छ । हामी विश्व बजारमा नेपाली फिल्म लिएर जान तयार छौं । निषेधित केही देशबाहेक अन्य ठाउँमा पैसा तिरेर फिल्म हेर्न सक्ने प्लेटफर्म हाम्रो छ,’ फोपीका कार्यकारी निर्देशक प्रशान्तराज कार्कीले भने, ‘मेरो विचारमा अहिले फिल्मका निर्देशक/निर्माता/वितरकले यो प्लेटफर्ममा फिल्म प्रदर्शन गर्ने ठूलो आँट गर्न जरुरी छ । यस्तो भयो भने लगानी उठाउन सक्नेमा म विश्वस्त छु ।’ ‘फोपी’ नेपाली फिल्म प्रदर्शन गर्न मिल्ने डिजिटल एप हो ।

फोपीका कार्यकारी निर्देशक प्रशान्तराज कार्की

अहिले लकडाउनले अधिकांश हल बन्द छन् । केही देशहरुमा मनोरञ्जनका क्षेत्र खुले पनि हलहरु खुल्न सकेको छैन । यस्तो अवस्थामा सामाजिक दूरी कायम गरेर फिल्म हेर्न डिजिटल प्लेटफर्म नै उपयुक्त ठान्छन् प्रशान्तराज ।

तर, नेपाली फिल्मका निर्माताहरु भने नेपालमा गतिलो डिजिटल माध्यम नै नरहेको तर्क गर्छन् । त्यसैले अधिकांश फिल्मकर्मीहरु अवस्था सामान्य हुने पर्खाइमा छन् । निर्माता अर्जुन कुमार भन्छन्, ‘नेपालजस्तो देशमा डिजिटल प्लेटफर्मको कल्पना नगरे हुन्छ ।’

त्यस्तै अर्का निर्माता सन्तोष सेनले नेपालका डिजिटल प्लेटफर्मले फिल्मको लगानी बराबरको रकम नदिएको बताउँछन् । लकडाउनले गर्दा प्रदर्शन स्थगित भएको उनको फिल्म ‘प्रेमगीत ३’मा ५ करोड लगानी भएको दाबी गर्छन् सेन । भर्खरै मौलन थालेको डिजिटल प्लेटफर्ममा लगानी उठ्न समय लाग्ने प्रशान्त बताउँछन् । ‘यो आफैमा परिपक्व उद्योग पनि होइन । कुनै पनि उद्योग बन्नलाई सयौं वर्ष लाग्छ । हामी सुरुवाती अवस्थामा छौं,’ उनले सुनाए, ‘परिपक्व नभएको उद्योगले नै लगानी उठाउनुपर्छ भन्नु चाहिँ मुर्खता हो । तर, हामीले कुनै कुरामा लगानी गरेको छ भने त्यसले कालन्तरमा रिटर्न दिने हो । यो बुझेर अहिले फिल्मकर्मीले सामुहिक रुपमा यो प्लेटफर्म प्रयोग गर्ने आँट गर्नुपर्छ ।’

सन्तोष सेन

नेपालमा ‘फोपी’बाहेक ‘भिडियो पसल’ र ‘सिनेमा घर’जस्ता प्लेटफर्म छन् । सायद यी प्लेटफर्म सक्रिय हुँदो हो त यस्ता प्लेटफर्ममा निर्माताको विश्वास बढ्ने थियो । तर, अवस्था ठिक उल्टो छ । लकडाउनले गर्दा दर्जन फिल्मको प्रदर्शन रोकिएको छ । यस्तो अवस्थामा निर्माता डिजिटल प्लेटफर्मलाई बलियो मान्दैनन् ।

‘डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन गर्नु राम्रो कुरा हो । तर त्यो गर्नको लागि नेटफ्लिक्स, अमाजोन प्राइमजस्ता बलियो एप्सहरु नै छैन नेपालमा । त्यसैले फिल्म प्रदर्शनको अवस्था तुरुन्तै देखिएको छैन। मेरो फिल्म त थियटर प्रदर्शन हुन्छ होला,’ निर्देशक सुदर्शन थापा सुनाउँछन् ।

नेपालमा यस्ता प्लेटफर्मको पकड बलियो नभएको स्वीकार्छन् फोपीका प्रशान्तराज । ‘हो, हामीकहाँ फिल्म हल जतिको पहुँच भएको डिजिटल प्लेटफर्म छैन । त्यसको कारण चाहिँ इन्टरनेटको पहुँच मात्र होइन, डिजिटल लिट्रेसी पनि हो,’ उनले भने, ‘नेपालको डिजिटल प्लेटफर्मले अन्तर्राष्ट्रिय प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यहीमाथि नेपाली फिल्मकर्मीको पुरातनवादी सोच छ, उहाँहरु डिजिटल भन्ने साथ युट्युब बुझ्नुहुन्छ । पहिला त झन लामो समयपछि मात्र डिजिटल प्रदर्शन गर्नुपर्छ भन्ने मान्यता थियो ।’ डिजिटल प्लेटफर्ममा सिर्जना चोरी हुने जोखिम रहेको निर्माता सन्तोष सेन बताउँछन् ।

‘लक्का जवान’का निर्माता किरण केसी भन्छन्, ‘डिजिटल प्लेटफर्ममा फिल्म चोरी हुने जोखिम हुन्छ । डिजिटलतिर प्रदर्शन गर्दा २२/२५ लाख आउला, त्यतिले केही हुँदैन । हाम्रो फिल्ममा त २ करोड १५ लाख खर्च भएको छ । ठीक छ नयाँ प्रविधिबाट १ करोड सामान्य तरिकाले आइहाल्ने र बाँकी रकम पछि पाउने अवस्था हुन्छ भने प्रदर्शन गर्न तयार छौं । तर यहाँ त्यस्तो अवस्था छैन । त्यसैले डिजिटल माध्यममा जाने सोचेनौं ।’

किरण केसी

लकडाउनले अधिकांश फिल्मकर्मीलाई डिजिटल प्रदर्शनतिर सकारात्मक बनाएको प्रशान्तराजको बुझाइ छ । पछिल्लो समय मात्रै धेरै फिल्मकर्मीले उनीसँग फोपी प्रदर्शनका लागि कुराकानी अगाडि बढाएका छन् ।

हल खुल्ने छैन टुङ्गो

लकडाउन लम्बिँदै गएको छ । लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले योजना बनाइरहे पनि तत्काल सिनेमा घर भने खुलाउने पक्षमा छैन ।

फिल्म प्रदर्शनको लागि लामो समय कुर्नुपर्दा निर्मातालाई घाटा हुने अर्जुनकुमार सुनाउँछन् । ‘फिल्म हल चल्नलाई ६ महिनादेखि १ वर्ष त लाग्ला । चपली हाइट-३ मा मेरो लगानी त्यस्तै १ करोड ५० लाख हो,’ उनले भने, ‘२ वर्ष यसरी डेढ करोड लगानी गरेर चुपचाप बस्दा त घाटा हुने भयो नि । समयमै फिल्म रिलिज हुन पाएको भए चपली हाइटले झैं यो फिल्मले कमाउने आशा थियो । लकडाउनले निर्माता मात्र बर्बाद भएको हो । निर्माता डुबेको हो ।’

उनले विदेशमा पनि फिल्मको अधिकार बिक्री गरिसकेका थिए । अब विदेश प्रदर्शन पनि टुङ्गो नभएको उनी बताउँछन् । उनी थप्छन्, ‘हामीलाई त घाटा भइसक्यो । दु:ख छ । अब संसारभर नै यो महामारी लागेको छ, दुख मानेर पनि के गर्नु ।’

‘चपली हाइट ३’ गत चैत २८ मा नै प्रदर्शन गर्ने तयारी थियो । तर लकडाउनले गर्दा फिल्मको प्रदर्शन सम्भव भएन । सरकारले लकडाउन घोषणा गर्नुअघि उनको टिम फिल्मको मिक्सिङ सक्ने तयारीमा थियो । तर, मिक्सिङको काम बाँकी रह्यो ।

‘लकडाउनको पहिलो पीडित हामी हौं । यो महामारीले गर्दा हाम्रो फिल्मको प्रदर्शन रोकियो ,’ निर्देशक सुदर्शन अवस्था सामान्य भएपछि नै फिल्म प्रदर्शन गर्ने तयारीमा छन् ।

त्यस्तै तोकिएको मितिमा फिल्म प्रदर्शन गर्न नपाउँदा निर्माता सेनलाई पनि घाटा भएको छ । ‘मेरो त ठूलो बजेटको फिल्म हो यो । अहिले फिल्मको ओभरसिज ठप्प भयो । विदेशको वितरकलाई पनि घाटा अनि लगानी गरिसकेपछि रिलिज हुन नपाउँदा त मलाई पनि घाटा । फिल्म जति दिन होल्ड भयो त्यति दिन घाटा हुन्छ निर्मातालाई,’ उनले भने, ‘चित्त बुझाउने के छ भने संसार नै अहिले यस्तो अवस्थामा छ । हामी मात्रै होइन । अहिले रोइकराई गरेर केही फाइदा छैन ।’

सुदर्शन थापा

निर्माता किरण केसीको फिल्म ‘लक्का जवान’ गत चैत २१ गते प्रदर्शन गर्ने तय भएको थियो । तर, अन्य फिल्मकर्मीका फिल्मलाई झैं उनको फिल्मलाई कोरोना लाग्यो । यस्तो अवस्थामा निर्माताले घाटा बेहोर्नु परेको उनी बताउँछन् । ‘समग्रमा हामीले त घाटा बेहोर्नु पर्‍यो नि । भनेको समयमा फिल्म रिलिज भएको भए अहिले सम्म फिल्मको नाफा घाटा सबै थाहा हुन्थ्यो । अब कहिले, कसरी लाग्छ फिल्म ? लगानी गरेको पैसा त्यतिकै फ्रिज भएको छ ।’

सिनेमा घर कहिले खुल्ने भन्ने नभएपछि निर्माता सन्तोष सेनले फिल्म प्रदर्शनको अर्को बाटोतिर आफ्नो पाइला चालेका छन् । नेटफ्लिक्समा ‘प्रेमगीत ३’ प्रदर्शन गर्ने प्रयास थालिसकेको उनी सनाउँछन् । ‘नेटफ्लिक्समा प्रस्ताव पठाएका छौं । त्यहाँबाट उहाँहरुले टिजर मन पराइदिनु भएको छ, ‘ उनले भने, ‘वानलाइनमा छलफल गर्न चाहनु भएको छ । तर वानलाइन लिएर जान पनि आवतजावत गर्न मिल्ने अवस्था हुनुपर्‍यो । त्यसैले अहिले मेरो टेक्निकल टिम पोस्टमा प्रपोजल बलियो बनाउने काम गरिरहेको छ ।’

उनका अनुसार ‘प्रेमगीत ३’को नेटफ्लिक्स प्रदर्शनका लागि बम्बईको एक फिल्मकर्मीले कुरा अगाडि बढाइदिएका छन् । ‘हामी अन्तर्राष्ट्रिय प्लेटफर्म कुरिरहेका छौं । मिल्छ कि भन्ने आशा छ । फिल्मको अंग्रेजीमा सबटाइटलको काम भइरहेको छ । हामी ट्राइ गर्दैछौं । डिजिटल माध्यममा कसरी नेपाली फिल्म अगाडि बढाउने भन्ने तिर हाम्रो सोच गइरहेको छ,’ उनले सुनाए ।

उनको टिमले लकडाउनअघि चित्त नबुझेको दृश्यको रि–सुट र गीतहरुको छायांकन सकेको थियो । लकडाउनले गर्दा फिल्मको अन्तिम पोस्ट प्रोडोक्सनको काम रोकिएको उनी बताउँछन् । हुन त उनले आफ्नो फिल्म हल केन्द्रित गरेर नै निर्माण गरेका थिए । तर, दर्शकसमक्ष चलचित्र कहिले पुग्‍ने भन्ने टुङ्गो छैन । त्यसैले डिजिटल माध्यमको उपायतिर उनले आफ्नो कदम चालेका छन् ।

‘अब हल खुले पनि ६ महिनादेखि १ वर्षसम्म त हलमा दर्शक आउला जस्तो लाग्दैन । पहिलाको जस्तो दर्शकको भीड हलमा देख्न नपाएला,’ सेनले भने, ‘डिजिटलमै जाने भन्ने पक्का त होइन । तर हामीले त्यतातिर जाने कोसिस गरेका छौं । अब लगानीको नजिक पुग्यौं भने पनि डिजिटल जोखिम लिन कोसिस गरिरहेका छौं । त्यसकै प्रोसेसमा अघि बढ्ने तयारी छ । हेरौं के हुन्छ ।’