स्पेनी ला लिगामा भ्यालेन्सिया र गेटाफेलाई धक्का!

जेठ ३१, २०७७


दस खेलाडीमा सीमित लेभान्टेले ९८औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि स्पेनी ला लिगामा भ्यालेन्सियाले शुक्रबार राति १–१ को बराबरीमा चित्त बुझाउनुपरेको छ ।

शीर्ष चारमा स्थान बनाउन प्रयासरत भ्यालेन्सिया मात्र होइन, गेटाफेले पनि निराशाजनक नतिजा बेहोर्नुपरेको छ ।
उसलाई एक गोलले पछाडि रहेको स्थिति उल्ट्याएर ग्रेनेडाले २–१ ले हरायो ।

अब यो नतिजाको फाइदा एट्लेटिको म्याड्रिड र रियल सोसिडाडले लिन सक्नेछन् । खाली मेस्टाला रंगशालामा भ्यालेन्सियाले ८९औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि रोडरिगो मोरेनोले गोल गरे । तर इन्ज्युरी समयको अन्त्यतिर लेभान्टेका लागि गोन्जालो मेलेरोले बराबरी गोल फर्काए ।

अर्को खेलमा कार्लोस फर्नान्डेजको गोलले पछाडि परेको ग्रेनेडाले पनि ७० र ७९ औं मिनेटमा गोल फर्काएको थियो ।