कोरोनाको कथामा फिल्म बनाउँदै सुदर्शन

असार ०१, २०७७


प्रेमकथामा फिल्म बनाउँदै आएका निर्देशक सुदर्शन थापा यतिबेला नयाँ फिल्मको तयारीमा छन् । यो लकडाउनको समय पुरै फिल्म लेखनमा सदुपयोग गरेर उनी नयाँ फिल्म निर्माणमा लाग्न लागेका हुन् । लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मले कोरोनाको बिषय उठाउने बताइएको छ । फिल्मले कोरोनाको कहरमा संघर्षरत प्रेमकथा समेत देखाउनेछ ।

कोरोनाको कहर सामान्य हुने बितिकै फिल्मको छायाँकन सुरु गर्ने निर्देशक सुदर्शनले जानकारी दिए । केही समयपछि कलाकार छनोट हुनेछन् । हुन त सुदर्शनका दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आउन बाँकी छन् । कोरोनाको कहरका कारण बन्द भएका फिल्म हलमा कहिलेदेखि फिल्म लाग्ने अझै टुङ्गो छैन । तर, सुदर्शन भने एकपछि अर्काे फिल्म थुपार्न ब्यस्त छन् ।

अहिले बन्न लागेको फिल्म सुदर्शनले अभिनेत्री पूजा शर्मासँग मिलेर नै बनाउन लागेका हुन् । केही चलचित्रमा निर्माण सहकार्य गरिसकेका सुदर्शन पूजाको यो फिल्ममा नयाँ तथा पुराना कलाकारको अभिनय रहने बताइएको छ ।