फिल्म परिवारवाट अहिलेसम्म को–को भए कलाकार ? कसको दबदबा कति ?

असार ०२, २०७७


नेपालमा घरका सदस्यलाई फिल्ममा भित्राउने ट्रेन्ड नयाँ होइन, पुरानै प्रवृत्ति देखिन्छ । तर, यसरी फिल्म परिवारबाट आएकाहरुमध्ये कमैले मात्र राम्रो छाप छाड्न सकेको देखिन्छ ।

अहिलेसम्म को–को कलाकार फिल्म परिवारबाट आए त, यसबारे संक्षिप्त चर्चा गर्दा अभिनेता राजेश हमाललाई छुटाउन मिल्दैन । उनी आफ्नै मामा दीपक रायमाझीको फिल्म ‘युगदेखि युगसम्म’बाट फिल्म क्षेत्रमा प्रवेश भएका थिए यद्यपी उनी यस्तो अपवाद भए जसले आफ्नै बलबुुताले फिल्म क्षेत्रमा लामो समय राज गरे । तर, रायमाझीले नै भित्राएका अर्का भान्जा किरणप्रताप केसी भने फिल्म क्षेत्रमा लामो समयसम्म टिक्न सकेनन्, त्यसैले अमेरिका पलायन भए ।

त्यस्तै फिल्म परिवारबाट आएर आफ्नो स्टारडम कायम राख्न सफल देखिएका अभिनेता हुन् भूवन केसीका छोरा अनमोल केसी । यद्यपी समीक्षकले उनको अभिनय कमजोर भएको भन्दै सधैँ आलोचना गर्ने गर्छन् ।

त्यस्तै अभिनेत्री झरना थापाले समेत आफ्नी छोरी सुहाना थापालाई हिरोइन बनाएकी छिन् । अमेरिकामा साइकोलजी पढ्दै गरेकी छोरीलाई घर बोलाएर उनले आफ्नै निर्देशनमा ‘ए मेरो हजुर–३’ मा अभिनय गराइन् । अनमोलसँग जोडी बाँधेर अहिले ‘ए मेरो हजुर–४’ पनि निर्माण भइरहेको छ ।

त्यस्तै निर्देशक शोभित बस्नेतले सात वर्षको उमेरमै आफ्ना छोरा सलोन बस्नेतलाई फिल्म क्षेत्रमा भित्राएका हुन् । यद्यपी उनी अहिले फिल्म क्षेत्रमा सहायक भूमिकामा सिमित देखिन्छन् । प्रमुख भूमिका उनलाई फापेको छैन । शोभितकै भाई जयकिशन बस्नेत समेत फिल्म क्षेत्रमै अभिनेता छन् ।

फिल्म निर्देशक नारायण पुरीका छोरा संयम पुरी समेत ‘सायद’ फिल्मबाट अभिनयमा डेब्यू भएका थिए । यद्यपी फिल्म खासै नफापेपछि पछिल्लो समय उनी फिल्ममा देखिएका छैनन् ।

वरिष्ठ अभिनेता टीका पहाडीका छोरा गौरव पहाडी पनि फिल्म क्षेत्रमै सक्रिय छन् । फिल्म परिवारबाट आएर अभिनयमा गम्भिर देखिएका थोरै कलाकारको सुचीमा उनको नाम पनि अटाउँछ । मुम्बई पुगेर अभिनय सिकेका उनले बलिउडमा छिर्ने प्रयत्न नगरेका होइनन् तर असफल भएपछि यतै फर्किएका थिए ।

त्यस्तै हास्यकलाकार किरण केसीका छोरा सुदन केसीसमेत ‘दाल भात तरकारी’बाट फिल्म निर्देशकका रुपमा देखापरे । निर्माता सन्तोष सेनले आफ्नो छोरा आयुब सेनलाई फिल्म ‘मेरी मामु’मा अभिनय गराएर सात वर्षको उमेरमै कलाकार बनाए । एक समयका हिट फिल्म निर्देशक तुलसी घिमिरेले समेत फिल्म ‘दर्पणछायाँ–२’मार्फत आफ्ना दुई छोरी भावना र पञ्चमीलाई फिल्म क्षेत्रमा भित्राए । जेठी छोरी भावनाले कला निर्देशकको जिम्मेवारी सम्हालेक थिइन् भने कान्छी पञ्चमीले सह–निर्देशक ।

अभिनेता शिव श्रेष्ठले समेत आफ्नो छोरा शक्तिलाई फिल्म क्षेत्रमा भित्राइसकेका छन् । अभिनेत्री करिश्मा मानन्धरको पनि आफ्नी छोरी कवितालाई हिरोइनमा जमाउने चाहना छ तर अहिलेसम्म सफल हुन सकेको छैन ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले पनि ‘के म तिम्रो होइन र’ फिल्ममार्फत् आफ्नै भतिज आर्यन अधिकारीलाई हिरो बनाएका छन् । अभिनेत्री रेखा थापाले आफ्नै जेठी दिदीका छोरा आभाष अधिकारीलाई फिल्म ‘रामप्यारी’मार्फत् फिल्म क्षेत्रमा डेब्यु गराएकी थिइन् ।

चर्चित फाइट डिरेक्टर राजेन्द्र खड्गीले ‘नथिङ पोसिबल’मा छोरी रागिनी र नाती आर्यन खड्गीलाई अभिनय गराएका थिए । निर्माता अशोक शर्माले समेत अघिल्लो साल आफ्नो छोरा अंकित शर्मालाई हिरो बनाएर फिल्ममा भित्राइसकेका छन् ।

अनमोलबाहेक अरु जति पनि फिल्म परिवारबाट आएका छन्, फिल्म क्षेत्रमा उनीहरुको बलियो उपस्थिती देखिन सकेको छैन । तर, आफ्नै परिवारका सदस्यलाई फिल्ममा ल्याउने ट्रेन्ड बढ्दा आफूहरुले काम पाउन छाडेको गुनासो संघर्षरत कलाकारबाट बढ्न थालेको छ ।