लद्दाखमा कसरी भयो भारत-चीनका सैनिकबीच झडप, अब के गर्दैछन् दुवै देश?

असार ०३, २०७७


भारतको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा भएको झडपमा दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ। अहिले पनि लद्दाख क्षेत्रमा तनावकै स्थित रहेको छ।

लद्दाखको सीमा क्षेत्रमा पर्ने गलवान भ्यालीस्थित प्यागाेङ ताल नजिक दुवै देशका सैनिकबीच सोमबार साँझ झडप भएको हो। झडपमा भारतीय सेनाका कर्णेलसहित २० सैनिकको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

मंगलबार बिहान भारतीय रक्षा मन्त्रालयले कर्णेल महेश बाबुसहित तीन सैनिकको मृत्यु भएको जनाएको थियो। त्यसपछि मंगलबार राति थप जानकारी सार्वजनिक गर्दै झडपमा घाइते भएका १७ सैनिकको मृत्यु भएको जनाएको थियो।

भारत र चीनबीच झडप भएकाे गलवान भ्याली।

भारत र चीनबीच झडप भएकाे गलवान भ्याली।

झडपमा ४३ चिनीयाँ सैनिकको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयको दाबी छ। यसको पुष्टि भने हुन सकेको छैन।

चीनले पनि झडपमा दुवैतिर हताहत भएको जनाएको छ। चिनीयाँ सेनाले दुवैतिरका सैनिकको मृत्यु भएको सार्वजनिक गरेपनि संख्या खुलाएको छैन। केही चिनीयाँ सैनिक घाइते भएको जनाएको छ।

यो क्षेत्रमा ४५ वर्षपछि भारत र चीनका सेनाबीच ज्यान जाने गरि झडप भएको हो। यस अघि सन् १९७५ मा दुवै देशका सेनाबीच गोली हानाहान भएको थियो। यस पटक भने दुवैतर्फबाट गोली नचलेको जनाएको छ।

अहिले भारत र चीनका सैनिकबीच झडप भएको काश्मीर क्षेत्र हो। सन् १९४७ मा काश्मीर देश भारतमा समाहित भएको थियो। त्यहिताका भारत, पाकिस्तान र चीनले काश्मीरको भूमि कब्जा गरेका थिए।

काश्मीरको पूर्वि क्षेत्र भारतले लिएको छ भने पश्चिम क्षेत्र पाकिस्तानले लिएको छ। त्यस्तै, उत्तरी क्षेत्र चीनले लिएको छ। पाकिस्तानको नियन्त्रण रहेको क्षेत्रलाई आजाद काश्मीर भन्ने गरिएको छ भने चीनको नियन्त्रणमा रहेको क्षेत्रलाई अक्साई चीन भन्ने गरिएको छ।

त्यस्तै, भारतको नियन्त्रण रहेको क्षेत्र जम्मु र कश्मीर हो। गत वर्ष जम्मु र कश्मीर राज्यलाई विभाजन गरेर उत्तर पूर्वि क्षेत्रलाई भारतले लद्दाख राज्य बनाएको छ। जुन अहिले केन्द्र शासित क्षेत्र छ।

अहिले त्यहि लद्दाख र अक्साई चीनबीचको सीमा क्षेत्रस्थित गलवान भ्यालीमा झडप भएको हो। धेरै ठाउँमा एलएसी तय भएपनि गलवान भ्यालीस्थित प्यागाेङ तालमा सीमा रेखाबीचमा परेको छ। त्यो तालको उत्तरी क्षेत्र चीन र दक्षिणी क्षेत्र भारतमा नियन्त्रणमा छ।

प्यागाेङ तालको उत्तरी किनारतिर चीनले सडक र भौतिक संरचना निर्माण गरेको छ। चीनले सकड र भौतिक संरचना निर्माण गरेपछि पछिल्लो ४५ दिनदेखि तनाव सुरु भएको हो।

योबीचमा दुवै देशका सैनिकबीच कुटाकुट र धकेलाधकेल हुँदै आएको थियो। एक सातायता यो क्रम बढेको थियो। तनाव कम गर्न दुवै देशका सैनिक र कूटनीतिक तहमा छलफल चलिरहेको थियो।

वार्ताका क्रममा दुवै देशले सेनालाई पछाडि ल्याउने सहमति गरेका थिए। चिनीयाँ सेना पछाडि गयो कि गएन भनेर हेर्न सोमबार भारतीय सैनिक टोली चीनले संरचना निर्माण गरेको प्यागाेङ ताल क्षेत्रमा पुगेको थियो। त्यहिवेला दुवै देशका सेनाबीच झडप भएको हो।

सोमबार दुवै देशका सेनाबीच हानहान भएको हो। ढुंगा तथा लाठीेले हानहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हिउँ जमेको क्षेत्रमा झडप हुँहा केही सैनिक तालमा खसेको पनि जनाएको छ। दुवै देशका सैनिकले गोली भने चलाएको पाइएको छैन।

यस झडपमा भारततिर कर्णेलसहित २० सैनिकको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। तर, चिनीयाँ सेना तर्फको क्षतिबारे भने चीनले कुनै जानकारी सार्वजनिक गरेको छैन।

अहिले दुवै देश वार्ताको लागि पहल गरिरहेका छन्। दुवै देशले सैनिक र कूटनीतिक तहमा वार्ताका लागि पहल गरिरहेको जनाएको छ।

दुवै देशका प्रमुखले लद्दाख तनावबारे रक्षा मन्त्रालयमार्फत जानकारी लिएका छन्। यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनीयाँ राष्ट्रपति सि जिन पिन केही बोलेका छैनन्।

परमाणु शक्तिसम्पन्न दुई देशबीचको तनावले संसारकै ध्यान तानेको छ। संयुक्त राष्टर् संघस वार्ताको माध्यमबाट सीमा समस्या हल गर्न आग्रह गरेको छ। त्यस्तै, अमेरिकाले पनि शान्ति बनाइराख्न र वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन्। (एजेन्सीकाे सहयाेगमा)