बेरिस्टोको नजर विकेटकिपिङमा

असार ०५, २०७७


वेस्ट इन्डिजसँगको शृंखलाका लागि खेलाडीले आफ्नो स्थान निश्चित गर्ने तयारी गरिरहँदा जोनी बेरिस्टोले आफू इंग्ल्यान्डको विकेटकिपरको भूमिका निभाउन सक्षम रहेको दाबी गरेका छन् ।

इंग्ल्यान्डले अर्को महिना सुरु हुने वेस्ट इन्डिजसँगको तीन टेस्ट शृंखलाको तयारी गरिरहेको छ । यो सँगै कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट पनि फर्किंदै छ । शृंखलाअघि कुनै प्रथम श्रेणीको क्रिकेट पनि खेलिएको छैन ।

खेलाडीको फर्मको स्थिति बुझ्न जुलाई ८ मा सुरु हुने पहिलो टेस्टअघि साउथह्याम्पटनमा अभ्यास खेल हुनेछ । यही स्थानमा पहिलो टेस्ट हुनेछ ।

गत वर्ष न्युजिल्यान्डको भ्रमण गर्दा इंग्ल्यान्डको टोलीमा बेरिस्टोलाई राखिएको थिएन । त्यसमा इंग्ल्यान्डका छनोट प्रमुख इड स्मिथले उनको अन्तर्राष्ट्रिय भविष्य विशेषज्ञ ब्याट्सम्यानका रूपमा मात्र रहेको संकेत गरेका थिए ।

सन् २०१२ मा लामो फर्म्याटमा ‘डेब्यु’ गरेयता उनले ७० टेस्ट खेलिसकेका छन् । तर पछिल्लो पटक डिसेम्बरमा उनले टेस्ट खेलेको दक्षिण अफ्रिकाविरुद्ध हो । दक्षिण अफ्रिकामा उनले खेलेको त्यही एक टेस्ट हो ।