चीन-भारत सीमा तनाव : आइपिएलले चिनियाँ प्रायोजकको विषयमा ‘रिभ्यू’ गर्ने

असार ०७, २०७७


इन्डियन प्रिमियर लिग (आइपिएल) ले प्रायोजकको विषयमा ‘रिभ्यू’ गर्नेका लागि नियमक काउन्सिलको बैठक आगामी साताका लागि बोलाएको छ।

लद्दाखको गल्वान उपत्यकामा सोमबार राति चिनियाँ सैनिकसँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि चिनियाँ प्रायोजकको विषयमा रिभ्यू गर्नका लागि आइपिएलले बैठक बोलाएको हो।

आफ्ना सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। जसमा कतिपयले आइपिएलको मुख्य प्रायोजकको विषयमा पनि प्रश्न उठाएका थिए।

आइपिएलको टाइटल प्रायोजक चिनियाँ मोबाइल कम्पनी भिभो हो।

सन् २०१५ मा दुई वर्षको प्रायोजन सम्झौता गरेको भिभोले सन् २०१७ मा पाँचको सम्झौता गरेको थियो। पाँच वर्षका लागि ३ सय ४१ मिलियन अमेरिकी डलरमा सम्झौता भएको थियो।

आइपिएलको अर्को प्रायोजक चिनियाँ स्वामित्वमा रहेको इकमर्स कम्पनी पेटिएम छ। अलिबाबाको स्वामित्वमा रहेको पेटिएमले अफिसियल अम्पायरका लागि प्रायोजन गरेको थियो।

अब यी प्रायोजकसँगको सम्झौतालाई निरन्तरता दिने कि तोड्ने विषयमा आइपिएलले छलफल गर्नेछ।

गल्वानमा पछिल्लो समय देखिएको तनाव मत्थर पार्न दुई देशबीच वार्ता चलिरहेका बेला सोमबार राति उक्त झडप भएको थियो। पछिल्लो समय गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरेर गस्ती गरिरहेको भारतको दाबी छ।

४५ वर्षपछि भारत-चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृत्यु भएको हो।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ। त्यसमध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन।

भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन-भारतबीच युद्ध भएको थियो। उक्त युद्ध चीनले जितेको थियो। त्यसपछि पनि सीमाका विभिन्न ठाउँमा दुई देशका सेना आमनेसामने भइरहन्थे। तर सन् १९७५ यता सीमामा दुबै देशका सैनिकले एकअर्काको ज्यान लिएका थिएनन्।