युभेन्टसविरुद्ध एसी मिलानको उत्कृष्ट पुनरागमन, १८ मिनेटमा चार गोल

असार २४, २०७७


१८ मिनेटको अन्तरमा चार गोल गर्दै एसी मिलानले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै युभेन्टसविरुद्ध ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै एड्रियन राबियोले उपाधि होडमा रहेको युभेन्टसलाई अग्रता दिलाए । लगत्तै क्रिस्टियानो रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । योसँगै रोनाल्डोले लगातार पाँचौ खेलमा गोल गर्न सफल भएका छन् । यो सिजन उनले पोर्चुगल र युभेन्टसका लागि ४१ गोल गरिसकेका छन् ।

युभेन्टस सहज जीततर्फ अघि बढिरहेको बेला खेलको ६२ औँ मिनेटमा मिलानले पेनाल्टी पायो जसलाई ज्लाटान इब्राहिमोविचले सजिलै गोलमा परिणत गरे । जनवरीमा एसी मिलानसँग आबद्ध भए यता उनले १३ खेलमा ६ गोल गरेका छन् ।

त्यसपछि फ्रांक केसी र राफायल लिएओले गोल गर्दै मिलानको पुनरागमन पुरा गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एन्टे रेबिकले चौथो थोल गर्दै मिलानको रोमाञ्चक जीत सुनिश्चित गरे ।

पराजयसँगै माउरिजियो सारीको टोलीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर गुमाएको छ । दोस्रो स्थानमा रहेको लाजियो मंगलबार लिससँग पराजित भएको थियो ।