गायक हिमाल सागर पनि अब नायक

असार २९, २०७७


काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफू नयाँ फिल्ममा अनुबन्धित भएको उल्लेख गरेका छन् । कोरोना संक्रमणअघि नै कन्सर्टका लागि अमेरिका पुगेका उनी नेपाल फर्कन पाएका थिएनन् । दुई महिनाअघि उनले नेपाल फर्कनका लागि सरकारसँग अपिलसमेत गरेका थिए । तर, अहिले त्यहाँ आफूले फिल्ममा नायकको रूपमा काम पाएको उनले बताएका छन् ।

हालै मात्र तीन गायक प्रकाश सपूत, नितेशजंग कुँवर र प्रेम परियार पनि फिल्ममा अनुबन्धित भएका छन् । हिमाल पनि अनुबन्धित भएपछि अब अर्कोवर्ष चार जना गायकहरूलाई नायकको रूपमा पर्दामा देख्न पाइने भएको छ । नेपाली चलचित्र उद्योगमा अहिलेसम्म भुवन केसीबाहेक अरू कुनै पनि गायकले नायकको रूपमा सफलता हासिल गर्न नसकेको बेला प्रकाश, नितेश र प्रेमसँगै हिमाल सागर पनि गायनबाट पर्दामा प्रस्तुत हुँदै छन् ।

अभिनेता हिमालले फेसबुकमा लेखेका छन्, ‘धेरै दर्शकर श्रोताहरूको चाहनालाई मध्यनजर गरेर कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमै सुटिङ गर्नेगरी फिल्म खेल्ने पक्का,’ उनले आफ्नो नयाँ चलचित्रको बारेमा अरू खुलाएका छैनन् । यसअघि आफूलाई फिल्मबाट प्रस्ताव आउँदा नायक बन्ने चाहना छैन भनेका थिए । तर, यतिबेला यी गायकमा नायक बन्ने चाहना जागेको छ । यसपटक उनले कोसँग कुन फिल्म खेल्दै छन् । त्यो भने फेरि खुलाउने बताएका छन् ।