कर्णालीमा साउनदेखि विद्यालय सञ्चालन गर्ने प्याब्सनको तयारी

असार ३१, २०७७


३० असार, सुर्खेत । कर्णालीमा निजी विद्यालयहरुले साउनदेखि पठन-पाठन सुरु गर्ने बताएका छन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कर्णालीले साउन चार गते आइतबारदेखि पठन-पाठन सुरु गर्ने तयारी गरेको हो ।

लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन-पाठन सुरु गर्न लागेको प्याब्सन कर्णालीका अध्यक्ष नैनसिंह खत्रीले बताए ।

आवश्यक सुरक्षा मापदण्ड र भौतिक दुरी कायम गरी पहिलो चरणमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई कक्षा कोठाबाटै पठन-पाठन सुरु गर्न लागिएको अध्यक्ष खत्रीको भनाइ छ ।

प्रत्येक विद्यालयमा एक/एकजना विद्यालय नर्सको अनिवार्य व्यवस्था गरिने छ । एउटा बेन्चमा एकजना र एउटा कक्षा कोठामा १५ जनामात्रै विद्यार्थी राखिने छ ।

प्रत्येक कक्षा कोठामा हात धुने साबुन पानीको छुट्टाछुट्टै व्यवस्था गर्ने, विद्यालय प्रवेश गर्नुअघि थर्मल गनमार्फत ज्वरो चेकजाँच गर्ने, कक्षाकोठा स्यानिटाइज गर्नेलगायतका व्यवस्था मिलाइने छ ।

‘सामाजिक दुरी कायम गर्दै पूर्ण सुरक्षाका साथ साउन चार गते आइतबारदेखि पठन-पाठन सुरु गछौं,’ अध्यक्ष खत्रीले भने, ‘विद्यार्थी र अभिभावकको अनुरोधमै हामीले पठन-पाठन सुरु गर्न लागेका हौं ।’