आमाको सम्झनामा भीष्मको ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक

साउन ०१, २०७७


काठमाडौं,साउन १ । नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीतसङ्गीतको क्षेत्रमा प्रवेश गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ ।

चर्चित गायक स्वरुपराज आचार्यको स्वर तथा विक्रम थापाको सङ्गीत रहेको सार्वजनिक गीतको लिरिकल भिडियोमा विसन मानन्धरको सङ्गीत संयोजन रहेको छ। यस्तै किशोर खनालले खिचेको गीतको सम्पादन श्यामराजा श्रेष्ठले गरेका छन् ।

गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्- ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’

त्यसैगरी गायक स्वरुप राज आचार्य भन्छन्- ‘मैले मेरो २५ वर्षे साङ्गीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्दहरु निक्कै नै अब्बल रहेको पाएँ । गीतकार फुलाराजीले भने झै आमा गुमाइसकेका संसारका ती सबै सन्तानहरुको साझा गीत हो यो भन्ने कुरामा म पनि सहमत छु ।

फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डी. फुलारा पी.सी.को सहकार्यमा निर्माण गरिएको गीतको लिरिकल भिडियो गीतकार फुलाराको आधिकारीक युट्यूब च्यानल ‘फुलारा इन्टटेनमेन्ट’मार्फत स्रोता/दर्शकमाझ आएको छ ।