कहिलेबाट सुरु होला त फिल्म छायांकन ?

साउन १५, २०७७


निर्माता, निर्देशक तथा कलाकार रोज राणा चलचित्र ‘खलनायक २’को छायांकन भदौबाट सुरु गर्ने तरखरमा छन् । अधिकांश कलाकार चयन गरिसकेका रोजले भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताउँदै आएका छन् ।

चलचित्रकर्मीहरु छायांकनका लागि भदौ महिना पर्खिरहेका छन् । तर, सरकारले नेपाली चलचित्रको छायांकनका लागि कुनै निर्देशिका जारी गरेको छैन । सरकारले चलचित्र छायांकनका लागि कहिलेबाट अनुमती दिन्छ भन्ने पनि पक्का भएको छैन । तर, चलचित्र छायांकनका लागि निर्माताहरुले खुट्टा अगाडि बढाइसकेका छन् ।

चलचित्रको छायांकनमा हुने टिम बराबरको यूनिट लिएर म्यूजिक भिडियोको छायांकन धमाधम भैरहेको छ । काठमाण्डौका सडकमा सुटिङ यूनिट लेखिएका गाडीहरु धमाधम कुदिरहेका छन् । तर, यी सबै म्यूजिक भिडियोको छायांकनका लागि मात्र प्रयोग भैरहेका छन् ।

निर्देशक मिलन चाम्स पनि चलचित्रको छायांकन भदौबाट सुरु गर्ने दौडमा छन् । चलचित्रको टिम तयार गरिरहेका मिलन चलचित्र क्षेत्र चलायमान बनाउनका लागि पनि छायांकन सुरु गर्ने बताउँछन् ।

नायिका रेखा थापादेखि निर्देशक शंकर अधिकारी पनि भदौबाट चलचित्रको छायांकनको तरखर गरिरहेका छन् । धेरैले प्राविधिकहरु बेरोजगार भएकाले पनि काम सुरु गर्नुपर्ने रटान लगाइरहेका छन् ।

चलचित्र बनाउनेहरु तातिएको समयमा चलचित्रसँग सम्बन्धित संघसंस्थाहरु अझै पनि यो क्षेत्रलाई चलायमान बनाउने बिषयमा छलफलमा बसेका छैनन् । चलचित्र बनाउनेहरु तात्ने, तर यसको निर्देशिका नबनाउने हो भने चलचित्र क्षेत्र चलायमान हुन सहज देखिदैन ।