२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने

भदौ ०५, २०७७


५ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । तर यसको अर्को पाटो पनि छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक  गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २८ साउनमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको हो ।

परिषद्को निर्णय अनुसार एसईईमा तीन विषयमा ‘डी प्लस’ ल्याएर मात्रै पनि पुग्दैन । जीपीए पनि १.६ ल्याउनै पर्दछ । यो वर्ष यी दुबै मापदण्ड पुरा नगर्ने विद्यार्थी करिब २६ हजार छन् ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित पढ्नका लागि भने जीपीए १.६ सँगै अंग्रेजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनुपर्छ ।