अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

भदौ ३१, २०७७


भदौ ३१, तेह्र विद्यार्थी संगठनले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ। विद्यार्थी संगठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाका नाममा चर्को शुल्क असुल गरिरहेको भन्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाहीको माग गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए।

बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ। कोभिड–१९ तत्काल नियन्त्रण नहुने र अझै एक दुई वर्ष रहने प्रक्षेपण गरिएको, वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग अनुरोध गरिएको छ।