सिनेमा हल बन्द हुँदा युटुब र डिजिटल प्लेटमा नेपाली फिल्मको क्रेज

मङि्सर ११, २०७७


विगत ८ महिनादेखि हलमा चलचित्र रिलिज भएका छैनन् । हलमा गएरै चलचित्र हेर्ने दर्शकहरुलाई हल नखुल्दा दिक्क लाग्नु स्वभाविक पनि हो । नयाँ नेपाली वा कुनै पनि भाषाको चलचित्र दर्शकले हलमै गएर हेर्न नपाएको ८ महिना भयो । पछिल्लो हिट चलचित्र ‘आमा’ पछि बक्स अफिस सुनसान छ ।

यसैले पनि हलमा जान नपाएका दर्शकले युटुब वा अन्य डिजिटल प्लेटफर्ममा चलचित्र हेरिरहेका छन् । नेपाली चलचित्रको भ्यूज र क्रेज युटुबमा देखिनु पनि यसको एक उदाहरण हो । नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ १० दिन भन्दा बढी समय युटुब ट्रेन्डिङको १ नम्बर स्थानमा रह्यो । सार्वजनिक भएको १९ दिनमै चलचित्रलाई १ करोड भ्यूज मिल्यो । अहिले पनि यो चलचित्र युटुबको १० नम्बर ट्रेन्डिङमा छ ।

हलमा असफल भएको चलचित्र ‘साइँली’ युटुबको सातौ नम्बर ट्रेन्डिङमा छ । दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रलाई २ सातामा ४१ लाख बढी भ्यूज मिलेको छ । सार्वजनिक भएको पाँच दिनमै २१ लाख भ्यूज बटुलेको चलचित्र ‘प्रसाद’ नेपालको युटुब ट्रेन्डिङ नम्बर १ मा छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

युटुबमा सार्वजनिक भएको १३ दिनमा १४ लाख भ्यूज बटुलेको चलचित्र ‘कुम्भ करण’ युटुबको २० नम्बर ट्रेन्डिङमा छ । चलचित्रलाई २० हजार भन्दा बढी लाइक मिलेको छ । भोलाराज सापकोटा, गौरव पहारी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले पनि दर्शकको मन जितिरहेको छ । पछिल्लो समय सार्वजनिक भएका सबै नेपाली चलचित्रले युटुबमा राम्रो वर्चस्व कायम गरेका छन् भने दर्शकको पनि उल्लेख्य साथ पाएका छन् ।