आन्दोलनरत उखु किसानद्वारा वार्तामा बस्न अस्वीकार

पुष ०२, २०७७


पुस २, आन्दोलनरत उखु किसानले वार्तामा बस्न अस्वीकार गरेका छन्। उधारो सहमति नगर्ने भन्दै उनीहरुले वाता अस्वीकार गरेका हुन् । सरकारसँग सहमति गरेको एव वर्षसम्म पनि उखुको पैसा नपाएपछि किसान आन्दोलनमा छन् ।

सर्लाही, रौतहट, नवलपरासीलगायतका तराईका जिल्लाबाट काठमाडौंमा आएका उखु किसान मंसिर २८ गतेदेखि माइतिघर मण्डलमा धर्नामा बसिरहेका छन्। उनीहरुको उखु बेचेको ९० करोड रुपैयाँ उद्योगीहरुले दिएका छैनन्। गत वर्षपछि त्यहि पैसा उठाउन उनीहरु काठमाडौं आएका थिए। सरकारले तीन महिनापछि पैसा उठाउने आश्वासन दिएर सहमति गराएको थियो। तर, एक वर्ष बितिसक्दा पनि उखु किसानले पैसा पाएका छैनन् ।

यस पटक माइतिघर मण्डलमा धर्नामा बसेका उखु किसानले उधारो सहमति नगर्ने जनाएका छन्। उखुको पैसा भुक्तानी नहुँदासम्म वार्तामा पनि नबस्ने उनीहरुले अडान लिएका छन्। उद्योगमन्त्री लेखराज भट्टको अभिव्यक्तिले उनीहरु झन चिडाएका छन्। मन्त्री भट्टले उखु किसानको आन्दोलनमा विचौली घुसेको अभिव्यक्ति दिएका थिए। त्यसैले मन्त्री भट्टले वार्ताका लागि बोलाउँदा पनि उनीहरु गएका छैनन्। उखु किसानले गत वर्ष भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन्।

उखुको पैसा नपाउँदासम्म घर नफर्किने उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले बताए। उनले मन्त्रालय पनि नजान र घर पनि नफर्किने बताए। पाँच दिनदेखि धर्नामा बसेका किसान समस्यामा परेका छन्। चिसोका कारण उनीहरु असहज महसुस गर्न थालेका छन् ।