घरमै छन् ३६ हजार कोरोना संक्रमित

बैशाख १८, २०७८     सम्पूर्ण कुरा


सरकारले स्वास्थ्य संस्था भरिएको र उपचार गर्न नसकिने अवस्था आएको भने पनि अधिकाशंक कोरोना भाइरस संक्रमित भने घरमा बसिरहेका छन्। सरकारी अस्पताल तथा संस्थागत आइसोलेसनमा ७ प्रतिशत संक्रमित मात्रै रहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभर ३८ हजार आठ सय १३ जना सक्रिय संक्रमित छन्। उनीहरूमध्ये दुई हजार ६ सय ७८ जनामा मात्रै सरकारी तथा संस्थागत आइसोलेसनमा रहेका छन्। 

घरमा आइसोलेसनमा बसिरहेका संक्रमितको संख्या ३६ हजार एक सय ३५ रहेको छ। उनीहरूलाई सरकारी निकायले फोन पनि गरेका छैनन्। घरबाट फोन गरेर केहीले सोधपुछ गर्दै आएको भए पनि अधिकांश भने आफै सतर्कता अपनाएर घरमा बसिरहेका छन्। 

घरमै बसिरहेका संक्रमितमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा छन्। बाग्मती प्रदेशमा १८ हजार दुई सय ३३ संक्रमित घरमा छन भने सरकारी तथा संस्थागत आइसोलेसनमा एक हजारा ६३ जना छन्।

त्यस्तै, एक हजार आठ सय ८९ जना घरमा छन भने एक सय ८५ जना सरकारी तथा संस्थागत आइसोलेसनमा छन्। प्रदेश २ मा दुई हजार दुई सय २० जना संक्रमित घरमै बसेका छन्। सरकारी तथा संस्थागत आइसोलेसनमा ६६ जना मात्रै छन्। 

यसैगरी गण्डकी प्रदेशमा एक हजार आठ सय ९२ जना घरमा छन भने ६८ जना मात्रै सरकारी तथा संस्थागत आइसोलेसनमा छन्। लुम्बिनी प्रदेशमा पनि नौ हजार ६ सय ५१ जना संक्रमित घरमै छन्। सरकारी तथा संस्थागत आइसोलेसनमा ६ सय ११ जना छन्। 

कर्णाली प्रदेशमा एक हजार १६ जना घरमै बसेका छन् भने एक सय आठ जना मात्रै सरकारी तथा संस्थागत आइसोलेसनमा बसेका छन्। सुदूरपश्चिममा एक हजार दुई सय २४ जना घरमा बसेका छन् भने सरकारी तथा संस्थागत आइसोलेसनमा पाँच सय ७७ जना छन्। 

सरकारी तथा संस्थागत आइसोलेसनमा उपचाररत दुई हजार ६ सय ७८ जनामध्ये तीन सय ३१ जना आईसीयूमा छन्। त्यस्तै, एक सय १५ जना भेन्टिलेटरमा रहेका छन्। 

नेपालमा अहिलेसम्म तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना देखिएको छ। संक्रमितमध्ये तीन हजार दुई सय ७९ जनाको मृत्यु भइसकेको छ।