डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

असोज २१, २०७८


मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ आज (घटस्थापना) देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ । कोरोना महामारीका कारण लामो समय देखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र ‘एक’ ले डिजिटल प्लेटफर्ममा ‘जोखिम’ मोलेको हो । यद्यपि आजै देखि सिनेमा हलहरू पनि खुलेका छन् । यो चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डित हुन् । पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सि.ए.आई) को परिकल्पना पनि यो फिल्ममा गरेका छन ।

फिल्लमा सिएआई एउटा गुप्तचर संस्था हुन्छ । राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयन्त गरेका छन् । ‘राष्ट्रका विरूद्ध हुने यस्ता वैदेशिक चलखेलहरूलाई असफल बनाउनका लागि फ्रन्टिएरको रुपमा काम गर्ने सिएसआईजस्ता संस्था नेपालमा आवश्यक भइसकेको छ भन्ने सन्देश यो चलचित्रले दिएको छ । खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ ।

कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’ मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन् । यी दुई पात्रबीच मिसन केन्द्रित अन्तर संघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छ । प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायांकन गरेका हुन् । सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्।

गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन् । सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् । चलचित्र ‘एक’ सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय गरेका छन् ।