सिनेमा हलमा ‘डाँडाको बर पीपल’

असोज २७, २०७८


कोरोना महामारीका कारण साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हल घटस्थापना (असोज २१) बाट सञ्चालनमा आएका छन् । तर, प्रदर्शनका लागि नेपाली फिल्म नहुँदा विदेशी फिल्म चलाएर हल खुलेका थिए । मंगलवार (आज) बाट भने दर्शकले हलमा नेपाली फिल्म हेर्न पाउने भएका छन् । दशैं विदालाई लक्षित गर्दै फूलपातीबाट फिल्म ‘डाँडाको बर पीपल’ प्रदर्शनमा आएको छ । मल्टीप्लेक्समा राम्रो शोज पाएको यो फिल्मले सिनेमा हलसम्म दर्शकको भीड तान्ने अपेक्षा गरिएको छ । दशैं विदा (फूलपातीदेखि पूर्णिमासम्म) को फाइदा पनि फिल्मले उठाउन सक्ने देखिन्छ । प्रदर्शनको अघिल्लो दिन सोमवार काठमाडौंको ‘वान सिनेमाज्’ मा फिल्मको प्रिमियर गरिएको थियो । जहाँ फिल्मकर्मीहरुले फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा गरेका थिए ।  शोभित बस्नेत निर्देशित फिल्मले जातका कारण प्रेममा आउने अवरोध र दुई पुस्ताबीच देखिएको दूरीको कथा भन्छ । फिल्ममा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको अभिनय छ । शिव र गौरीको छोराको भूमिकामा सलोन बस्नेत देखिएका छन् भने उनको अपोजिटमा रुविना थापाले अभिनय गरेकी छन् । नवराज गिरीले फिल्मको निर्माण गरेका हुन् ।  यो फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, सुशान्तकुमार श्रेष्ठ लगायतको पनि अभिनय छ । सरस्वती गिरी कार्यकारी निर्माता रहेको फिल्ममा नवराज गिरीको कथा, शिव मुखिया र एलिस कार्कीको संगीत, रामकाजी घिमिरेको स्क्रिप्ट, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ ।