राष्ट्रिय टिममा भीमको डेब्यू, ज्ञानेन्द्रले पाएनन् मौका
चैत ८, आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ । दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले बलिङ गर्नेछ । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली राष्ट्रिय टिममा २ परिवर्तन गरेका छन् । सोमबार युएईविरुद्ध खेलेको टिममा रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विक्रम सोबलाई दासानायकेले आराम दिएका छन् ।
उनीहरुको स्थानमा भीम सार्कीलाई राष्ट्रिय टिममा डेब्यू गराएका छन् भने र आसिफ सेखलाई पुनः टिममा बोलाएका छन् । घरेलु क्रिकेट र नेपालका लािग उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गरेका भीम युएई भ्रमणमार्फत नै पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । भीम ब्याटिङ र फिल्डिङमा निकै उत्कृष्ट छन् । उनलाई नेपाली ‘जोन्टी रोड्स’ पनि भन्ने गरिन्छ ।
तीन राष्ट्र सम्मिलित श्रृंखलामा यो अन्तिम खेल हो । यसअघि खेलका तीन मध्यै नेपाल र पिएनजी दुवैले समान १ खेल मात्र जितेका छन् । नेपालको प्लेइङ ११, कप्तान सन्दीप लामिछाने, विनोद भण्डारी विकेटकिपर, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, पवन सर्राफ, आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, भिम सार्की र सोमपाल कामी ।






