सिनेमा घरको इतिहास

चैत २५, २०७८


वि.सं. २०३२ सालको भदौ पहिलो साता भारतमा धर्मेन्द्रको फिल्म ‘सोले’ ले हलहरू हाउसफुल थिए । भारतमा चलेका अधिकांश फिल्महरू नेपाल पनि आइपुग्ने गर्‍थ्यो । तर त्यो फिल्मले नेपाली हलहरूमा ठाउँ पाएन । कारण थियो त्यतिबेला नेपालको बारेमा उनले दिएको विवादास्पद अभिव्यक्ति । उनको अभिव्यक्तिका कारण नै फिल्मलाई नेपालमा प्रतिबन्ध लगाइएको थियो ।

विशतर धर्मेन्द्रका नेपाली फ्यानहरूले राष्ट्रवाद बिर्सिएर नजिकको सीमापारि गएर फिल्म हेर्न थाले । धर्मेन्द्रलाई मनपराउने काठमाडौंका युवा पनि समूह बाँधेर लुकिछिपी रक्सौल पुगेर फिल्म हरेर फर्किन्थे । त्यसरी भागेर फिल्म हेर्नेमा एक थिए चलचित्र समीक्षक विजयरत्न तुलाधरका दाइलगायतको समूह । यो घटनाले त्यतिबेलाको नेपाली चलचित्रप्रति नेपालीको क्रेज कति थियो भन्ने देखाउँछ ।

त्यतिबेला विजय त्यस्तै १२ वर्षजतिका थिए । मामाघरमा बस्दा हजुरआमादेखि सानिआमासम्म नियमित हलमा गएर चलचित्र हेर्ने गर्नुहुन्थ्यो उनी सम्झन्छन् त्यही भएकोले पनि मैले ८ वर्षको उमेरमै जयनेपाल हलमा गएर ‘ब्रह्मचारी’ हेर्ने अवसर पाएको थिएँ । त्यो नै उनले हेरेको पहिलो चलचित्र हो । इन्टरभलमा घरमै बनाएको चटामरी वा अन्य खाजा खाइन्थ्यो, त्यतिबेला उपत्यकाका सबैको रोजाइमा न्युरोडको रञ्जना हल पर्दथ्यो । बाहिर सुन्दर देखिने र खुला ठाउँमा रहेको रञ्जनामा शहरको बीचमा भएर पनि होला धेरैको रोजाइमा पर्दथ्यो । उनी सम्झन्छन् ।

तर विजयले भनेजस्तै बाहिर हल जति राम्रा देखिन्थे हलभित्रको अवस्था भने उस्तै झुर । २०२६ सालमा काठमाडौं आएका फिल्म क्षेत्रका जानकार वसन्त थापा त्यतिबेलाको चलचित्र हल जाँदाको पीडा भनिसाध्य नरहेको सुनाउँछन् । जति नै धेरै मान्छे भए पनि अहिलेको जस्तो लाइन बस्ने भन्ने हुँदैन’थ्यो । अव्यवस्थित भीडमा जो शक्तिशाली हुन्छ उसैले टिकट पाउँथ्यो । भीडमा ठेलमठेल गर्दै झ्यालसम्म पुग्न सक्नेको हातमा मात्र हुन्थ्यो टिकट। एउटा कठिन युद्ध जिते जस्तै हुन्थ्यो टिकट पाउन । समग्रमा त्यतिबेला हलमा फिल्म हेर्न त्यति सजिलो थिएन ।

टिकट पाएर मात्रै पनि सुख थिएन । हलभित्रको उकुसमुकुसले बसिनसक्नु हुन्थ्यो । सिट त्यस्तै बिग्रेभत्केका हुन्थे । कहिले पूरा फिल्म हेर्नै नसक्ने खालको त कुनैमा बस्दा पाइन्ट च्यातिन्छ कि भनेर हेर्नुपर्ने । टिनको छानोले छाएको हलमा बर्खा याममा त आवाज सुन्न पनि मुस्किल हुन्थ्यो । तर पनि यस्तै भए पनि हलमा मान्छेको घुइँचो भने कम्ती हुने थिए । नेपाली हलको यो अवस्था २०३० को दशकको मध्यतिरबाट बिस्तारै सुध्रिन थाल्यो । तुलाधर सोलेको प्रदर्शनीको समयमा धेरै नेपालीले भारतमा पुगेर चलचित्र हेरेपछि बिस्तारै नेपाली हलमा पनि पर्दा र आवाजमा सुधार आउन थालेको सुनाउँछन् ।

२०४१ सालमा कुमारी हल स्थापना पछि भने नेपाली हलमा फिल्म मात्रै नभएर अन्य सुविधा समेत बिस्तारै थपिन थाले ।