नातिकाजी राष्ट्रिय संगीत पुरस्कार सन्तोष श्रेष्ठलाई

बैशाख २०, २०७९


काठमाडौं २० वैशाख ।

२०७७ सालको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाएका छन् । संगीत विधामा उनलाई यो पुरस्कार प्रदान गरिएको हो । रचनातर्फ अरुण तिवारी, गायनतर्फ निशा देशार र शिव परियारले पनि नातिकाजी राष्ट्रिय संगीत पुरस्कार पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सोमबार पुरस्कार वितरण गरिन् ।

पुरस्कार पाएपछि संगीतकार श्रेष्ठले यो सम्मानबाट अत्यन्त खुसी र अझ बढी जिम्मेवारी वोध भएको बताए । ‘नातिकाजी जस्तो शिखर व्यक्तित्वको नाम जोडिएको पुरस्कार पाउनु मेरो लागि अत्यन्त खुसीको क्षण हो,’ श्रेष्ठले अनलाइनखबरसँग खुसी साट्दै भने, ‘यो सम्मानबाट संगीत क्षेत्रमा अझै बढी योगदान गर्नुपर्छ भन्ने महसुस भएको छ ।’

२०७७ सालकै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान भने १४ जनालाई प्रदान गरिएको छ । वाद्यवादनतर्फ नारायण दाश कार्की ढली, साउन्ड इन्जिनियरतर्फ प्रदीप उपाध्याय, अर्केष्टा संगीततर्फ राजकुमार श्रेष्ठ र शास्त्रीय संगीततर्फ प्रभु ढकाललाई सम्मान गरिएको छ ।

यसैगरी गायनतर्फ उमेश पाण्डे, कुन्ति मोक्तान र सिताराम पोखरेल तथा रचनातर्फ एसपी कोइराला, बीबी थापा, शहदेव ढुंगाना, शीला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शितल कादम्बिनीलाई पनि नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान प्रदान गरिएको छ ।

यस्तै नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ ।