बस दुर्घटनामा परी ९ जनाको मृत्यु

जेठ २२, २०७९


काठमाण्डौ,२२ जेठ ।

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।आईतवार बिहान रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेर दुर्घटना भएको हो।

लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो। चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मृत्यु हुनेमा ८ पुरूष र एक महिला छन्। मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।