टिजरमा यस्तो देखियो ‘दोख’

जेठ २२, २०७९


अनुप बराल निर्देशित फिल्म ‘दोख’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार प्रसारलाई थप व्यापकता दिन टिजर सार्वजनिक गरेको हो ।

२४ असारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजर १ मिनेट ४८ सेकेन्डको छ । जसमा फिल्मका केही महत्वपूर्ण झलकले प्रथामिकता पाएको छ । माओवादी द्वन्द कालखण्डमा उठेको सामुदायिक बनको मुद्धा विषय बनाइएको फिल्म दुई गाउँ बीचको कथा समेटिएको छ ।

राजन कठेतको लेखन रहेको ‘दोख’ मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको मुख्य अभिनय देख्न सकिन्छ ।

शैलेन्द्र डी।कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मका सविन ज्ञवाली र मनोज अधिकारी निर्माता हुन् । भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माता रहेको फिल्म एसोसिएट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई रहेका छन् । फिल्मको वितरक काठमाडौँमा जिजिए ग्रुप, डिसीएन र काठमाडौँ बाहिर एफडी कम्पनी रहेको छ ।