प्रेम र वियोगको कलात्मक शिखर हो, चिसो मान्छे

असार ०५, २०७९


रातो बाकसमा एउटा शव काठमाडौं आइपुगेको छ कतार मरुभूमिबाट । यो बन्द बाकसलाई काठमाडौंबाट बाजुरासम्म पुऱ्याउनु छ, कोरोना कोहोर र लकडाउनको चर्को थुनछेकमाझ । कथा यत्ति हो, शव-यात्राको कथा । केही वर्षअघि खाडीको कतारमा समाचारकर्मी भएर बसेको अनुभवमा ‘सुत्दा सुत्दै मरेको’ समाचार धेरै लेखेको थिएँ । एउटा स्वस्थ्य, हट्टाकट्टा र उमेरदार श्रमिक एकाएक ‘सडेन हार्ट एट्याक मा कसरी पर्छ रु सधैंभर अनुत्तरित हुँदै र ‘पोष्टमार्टम’ समेत नभएका यस्तै श्रमिक शवहरु वर्षमा एक सयभन्दा माथिको संख्यामा आइरहेका हुन्थे‒ पत्रिकामा समाचारको एउटा कुनो अथवा ‘मृत्यु कोलम’ मा आट्ने खुराक मात्रै थिए ती शवहरु ।

म समाचारकर्मीका लागि पनि संवेदना रित्तिएको र मसला नभएको सनातनी खबर‒रातो बाकसमा शिलबन्दी भएर घर फर्किरहेका चिसा मान्छेहरु । यस्तै एउटा शव लिन मृतकका बाबु र मृतककी श्रीमती काठमाडौं एयरपोर्ट आइपुगेका छन्‒सुदूरपश्चिमको बाजुरा बजारबाट । स्वभावतस् रेमिट्यान्स र सामाजिक सुरक्षा कोषको गफ गरिरहने राज्यप्रणालीका निम्ति कुनै नेपाली श्रमिकको शव आइपुग्दा घरसम्म सहजै पुऱ्याइदिने शवबाहन समेत नरहेको अथवा उपलब्ध नगराइने यथार्थबाट कथा अघि बढ्छ । कतारमा यसरी ह्दयघात भएर मर्ने छोरा प्रतिकात्मकको शव बुझ्न उनकै श्रीमती स्वस्तिमा खड्का, मृतक छोराका बाबु देशभक्त खनाल र पिक-अपका चालक अर्पण थापा एयरपोर्ट पुगेका छन् । कोरोना कहर र लकडाउनका माझ बाजुरा पुऱ्याउनुपर्ने शव यात्राको कथाभित्र संवेदना, संवेग, आवेग र करुणा छ ।

छ महिने छोरी छाडेर भर्खरै कोरोनाले लगेकी श्रीमतीको बिषद्पूर्ण व्यथामा पिक-अपका चालक रुमलिएका छन्, जो आफ्नी छोरी काठमाडौं सहरमा एउटा डेराघरमा बस्ने बहिनी-ज्वाईका साथमा छोडेर रोजीरोटीमा निस्केका छन् । उनको त्यही शव बोकिरहेको गाडी पनि बैंक धरौटीमा छ, जीवनजस्तै आजभोलीको हिसाब नभएको गाडी । आश्चर्य, श्रीमानको शव बुझ्न आएकी श्रीमती स्वस्तिमामा त्यो रातो बाकसभित्रको लोग्नेप्रतिको कुनै सद्भाव छैन, संवेदना छैन । जीन्दगीमा काँधको सिरानी राखेर एक झप्को निदाउन पनि नपाइकन परदेशिएको त्यो लोग्ने न जीवनको कष्टमा साथै थियो, न प्रेम अपनत्वमा कतै । श्रीमतीका लागि त्यो सधैंसधैं चिसो मान्छे थियो । काठमाडौं देखि बाजुरा सम्मको लामो शवयात्रामा मृतक छोराका बाबुको मनको बह त्यसबेला निस्कन्छ, जब उनी थोरै पिएका हुन्छन् । सन्तान हुनुको दुस्ख, गरीब हुनुको दुस्ख, राजनीति र परिवर्तनका नाममा आएको दुस्ख ।

दुस्खैदुस्ख । एउटा यथार्थ के हो भने खाडीका ६ वटा मुलुक, मलेसिया, दक्षिण कोरिया सहितबाट वर्षेनी १ हजार जति श्रमिक-शवहरु नेपाल आउने गरेका छन् । ती सबै चिसो मान्छेका कथा हुन्, कहींकतै नलेखिएका कथा । एउटा शवसँग जोडिएको कथामा अटाएका जम्मा ३ पात्रले सुनाउने, बेहोर्ने र अभिनयमा देखाउन खोज्ने कथानक यस्तो बलशाली छ‒ यहाँ आफ्नोपनाको, आफ्नो माटो र सुगन्धको कथा भनेर अनेक फूलबुट्टा भरिरहनेका लागि दीपेन्द्र के‍‍‌ खनालको को ‘चीसो मान्छे’ एउटा जवाफ हो । दुस्ख र आँशुको संवेदनामा बुनिएको जवाफ ? ‘चीसो मान्छे’ मा नायिक स्वस्तिमाले बोलेको कर्णाली लवज, लगाएको कर्णाली पहिरन र बान्की धेरै अभ्यासपछि मात्रै देखिन सकिने कुरा हो । सबै आफ्नै तनाव र निराशा लिएर हिडिरहेका पात्रहरु संयोगले शव यात्राका यात्रु बनेका छन् । त्यसमा पनि सबैभन्दा बढी निराशा देखिन्छ‒ चालक बनेका अर्पण थापामा । सजिव र जीवन्त बनेका छन् यी चालक जो प्रेम, आवेग वा आक्रोसमा पनि एकदमैं ओजपूर्ण संवेदनायुक्त ‘इनसाइड आउट’ जस्तै ।

फिल्ममा धेरै कुरा प्रतिकात्मक छन् मृतक छोराको पर्समा अर्कै केटीको तस्वीर भेटिनू आफ्नी बुहारीको होइन, जीवनको आरोह-अवरोह र प्रेम-संवेदनाका अगाडी आफ्नै बुहारीलाई ‘छोरी’ भनेर सम्बोधन गरेको क्षण आदि-आदि । यस्तो शक्तिशाली शवयात्रामा कोरोना कहर र लकडाउनको ‘संवेदनाहिन’ घडीका कारण बाटोमा तगारा लगाउनेहरुसँग झगडा पर्नु र दोहोरिंदै लाठीमुङ्ग्री हुनु भने केही अन्यथा देखिन्छ । एउटा छोराको शव लिएर आइरहेको कठोर संवेदनामाझ लाठीमुङ्ग्रीको मसलाले ‘शव संवेदना’ लाई थोरै खल्बल्याएको छ, एउटा गाडीका चालकले कथाको सुरुमैं ‘यदा यदाही धर्मस्य भनेर एकदमैं मुस्किलको जीवन दर्शन सुनाएझैं । ‘चीसो मान्छे’ मा पुरापुर नेपाली माटोको गन्ध छ । फर्मुला नपछ्याउने यो फिल्मबाट निर्देशक दीपेन्द्रले के(कति कमाउलान्‒भन्न मुस्किल छ । तर, यस्तो मौलिक कथा र एकदमैं सिमित परिवेशलाई बुनेर सुनाउन खोजेको बृहत कथाको यो खाका अरुहरुले पनि सिक्नु जरुरी छ ।

प्रेमको भाषा बुझाउन आँखा बिझाउने रोमान्स नै चाहिन्न, अथवा नियति सम्झाउन सधैंको रोइलो पनि देखाइरहनु पर्दैन भन्ने सूक्ष्म विषय ‘चीसो मान्छे’ मा लुकेको छ । प्रेम र वियोग, संवेग र संवेदनाका हकमा दीपेन्द्रको यो काम एउटा कलात्मक शिखर हो । यी सिर्जनशिल निर्देशक र, अब कथाकारका निम्ति ‘पशुपति प्रसाद’ एउटा खुड्किलो थियो होला, ‘चीसो मान्छे’ अर्को उचाइ हो‒ प्रयोग, शिल्पी र कलात्मक कामका अर्थमा । यत्ति हो दीपेन्द्र, दुस्खै दुस्खको यो दुस्खान्त श्रृङ्खलाको अन्त्यमा स्वस्तिमाले ‘म अब चालक अर्पणसँगै काठमाडौं फर्कन्छु र नयाँ जीवन बसाल्छु’ भनिदिएको भए एउटा सामान्य दर्शक पनि स्वैरकल्पनामैं सही, थोरै आनन्दित भएर हलबाट निस्कने थियो कि ? नेपाली समाजको आजको यथार्थ र राजनीतिदेखि राज्य पद्धतिसम्मको मिहिन दृष्य हेर्ने मन भए ‘चीसो मान्छे’ हेर्नुहोला ।