डेंगु संक्रमण रोक्न १० वटै पालिकालाई निर्देशन

भदौ २८, २०७९


तुलसीपुर, २८ भदौ ।
दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले डेंगु रोगको संक्रमण फैलिनबाट रोक्नका लागि जिल्लाका १० वटै पालिकाहरुलाई निर्देशन दिएका छन् । जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु र पालिका प्रमुखहरुलाई डेंगु रोग नियन्त्रणका लागि सावधान अपनाउन निर्देशन दिएका हुन् ।

प्रजिअ रेग्मीका अनुसार संक्रमित लामखुट्टे जताकतै जानसक्ने भएकोले सबैलाई सर्तकता अपनाउनुका साथै संक्रमण फैलिएका स्थानमा लामखुट्टेको बास स्थान खोज्ने र नष्ट गर्ने कार्यक्रमहरु संचालन गरिएको छ ।

त्यस्तै लामखुट्टेको बास स्थान वरिपरी बिषादी छर्किने, घरको वरीपरी सरसफाई, जनचेतना लगायतका कार्यहरु गर्नका लागि संचार माध्यमबाट सूचना प्रवाह गर्ने कार्य भैरहेको प्रजिअ रेग्मीले बताए ।