डेंगी संक्रमणबाट ७ बालबालिकासहित २० जनाको ज्यान गयो

असोज ०३, २०७९


काठमाडौं ३ असोज ।

डेंगी रोगको संक्रमण अहिले देशभर महामारीको रुपमा फैलिदै गएको छ । डेंगी रोग संक्रमणबाट डेढ महिनाको अवधीमा देशभर ७ जना बालबालिकासहित २० जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन् ।

प्याकुरेलले दिएको जानकारी अनुसार डेंगी रोग संक्रमणबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका रहेको समेत बताए । नेपालमा २०७६ सालमा पनि डेंगीको संक्रमण तीव्र गतिमा फैलिएको थियो । त्यतिखेर काठमाडौं उपत्यकासहित देशभर गरी १९ हजारलाई डेंगी संक्रमण देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो ।

तर यसपटक डेंगी रोगका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको उनले बताए । यसपटक डेंगीका बिरामीलाई कडा लक्षण देखिएको पाइएको समेत उनले बताए ।

संक्रमितको संख्या १६ हजार नाघ्यो
इडिसिडीका अनुसार हालसम्म डेंगी संक्रमितको संख्यासमेत १६ हजार ५ सय ८७ जना पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा हाल १२ हजार ४०१ जना डेंगीका बिरामी रहेका छन् ।

गण्डकी प्रदेशमा ३२२ जना‚ लुम्बिनी प्रदेशमा २ हजार ४२२ जना, प्रदेश १ मा ५०४ जना, मधेश प्रदेशमा २४२ जना, कर्णाली प्रदेशमा २०३ जना र सुदूरपश्चिम प्रदेशमा ४९३ जना बिरामी रहेका छन् ।