‘नम्बरी सुन’ मा भित्रिए आमेष

कार्तिक १८, २०७९


राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ को अभिनेताको रुपमा आमेष भण्डारी अनुबन्धित भएका छन् । निर्माण युनिटले फिल्म अभिनयका लागि आमेषसँग सम्झौता गरेको हो । ‘फूलै फूलको मौसम तिमीलाई’ बाट फिल्म अभिनयमा डेब्यु गरेका आमेषले त्यसपछि फिल्म अभिनय गरेका छैनन् । लामो समयपछि उनी फिल्ममा फेरि देखिन लागेका हुन् । फिल्म अभिनय नगरेपनि म्युजिक भिडियोमा भने उनी लगातार देखिँदै आएका छन् ।

फिल्म ‘नम्बरी सुन’ निर्देशक गिरीले झन्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा बनाउन लागेका हुन् । मंसिरको ७ गतेबाट छायाङ्कन सुरु हुने फिल्ममा राजेन्द्र खड्गीले पनि काम गर्दैछन् । लमजुङको भुजुङ्ग खोला, हेटौडा र काठमाडौंमा यो फिल्मको छायांकन हुनेछ । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता, निर्माता, गीतकार र कथाकार नारायण खाती हुन् ।

फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।