दयाहाङ र विपिनको फिल्म ‘फूलबारी’ को पोस्टर सार्वजनिक

कार्तिक २१, २०७९


‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ अलग(अलग भावभंगीमा प्रस्तुत छन् ।

पोस्टरमा विपिनको गेटअपले ध्यान खिच्छ । उनी पाको उमेर ५०\५५ वर्ष को पुरुषको रुपमा चित्रित छन् । शिरमा ढाकाटोपी र आँखामा ठूलो चस्मा लगाएका उनको दाह्री र जुँगा सेताम्मे छन् । उनको छेउमा अढेस लागेका दयाहाङ भने तन्नेरी देखिन्छन् । त्यस्तै, सार्वजनिक पोस्टरमा प्रियंका र गौमाया गम्भीर भावमा टोलाएका छन् भने अरुणा र शिल्पा खुसी मुद्रामा देखिएका छन् ।

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।

फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय छ । अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा निर्माण भएको फिल्मले नेपाली समाजमा सबैले भोगिरहेकै पारिवारिक-सामाजिक कथालाई उठाएको निर्देशक गुरुङले जानकारी दिए ।