‘जेसी पोलिसी’ निर्माण गर्दे कपुरकोट गाउँपालिका

कार्तिक २३, २०७९


सल्यान, २३ कार्तिक ।

सल्यानको कपुरकोट गाउँपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गर्ने भएको छ । पछाडि परेका वा पारिएका वर्ग, समुदाय र क्षेत्रका नागरिकको शशक्तिकरण र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नेगरी ‘जेसी पोलिसी’ निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । आगामी तीन महिना भित्र नीति बनाइसक्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयाे ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति तर्जुमाका लागि गाउँपालिकामा हालै छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि समपन्न भएको छ । चालु आर्थिक वर्षमा ३९ प्रतिशत लैंगीक उत्तरदायी बजेट निर्माण गरिएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत वलीले समाजमा विद्यमान लैङ्गिक तथा सामाजिक विभेद कम गर्न र सामुदायिक सचेतना तथा सशक्तीकरणको लागि नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयाे । जस अनुरुप पालिकामा अन्तरक्रिया सम्पन्न गरिएको उनले बताए । अन्तरक्रियामार्फत जनप्रतिनिधी तथा विषयगत शाखा प्रमुखहरुबाट ‘जेसी पोलिसी’ मा समेट्नुपर्ने विषयका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रमले ‘जेसी पोलिसी’ निर्माणका लागि आवश्यक सहयोग गरेको छ ।