कीर्तिमानी चलचित्र ‘कबड्डी ४’ सिनेमाघर एपमा रिलिज हुँदै

कार्तिक २३, २०७९


काठमाडौं । गत जेठ १३ गते हलमा रिलिज भएको दयाहाङ राई र सौगात मल्ल स्टारर कीर्तिमानी नेपाली चलचित्र  ‘कबड्डी ४’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ ।रामबाबु गुरुङ निर्देशित चलचित्र आगामी शुक्रबार सिनेमाघर एपमा रिलिज हुने भएको छ।

एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले शुक्रबार उक्त चलचित्रलाई डिजिटल प्रिमियर गर्न लागिएको जानकारी दिए । दर्शकले २०० रुपैयाँमा सशुल्क एपमार्फत चलचित्र  हेर्न पाउनेछन् ।

ऎतिहासिक व्यापार गरेको चलचित्रले नेपालमा साढे २२ करोड रुपैयाँ ग्रस कमाइ गरेको थियो । भारतसहित डायस्पोराबाट मात्र चलचित्रले १० करोडभन्दा बढी कमाइ गरेको थियो ।

‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा चलचित्र हेर्न पाउनुहुनेछ,’ लामिछानेले भने । निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन् । यसका लागि दुई वर्ष समय लाग्ने निर्माता तथा निर्देशक रामबाबु गुरुङले बताए ।