पुष्प र वर्षाको फिल्म ‘मनसँग मन’ माघ २० मा रिलिज हुने

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक स्क्रिन साझेदारी गरेको लभस्टोरी फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन स्थगन भएको यो फिल्म अब आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । यो मितिमा अन्य दुई फिल्म ‘हिँड्दा हिँड्दै’ र ‘ह्यारी कि प्यारी’ पनि प्रदर्शनमा आउने तयारीमा छन् ।
सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा पुष्प र वर्षाका अलावा वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको पनि अभिनय छ । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् । कैलाश राई निर्देशित ‘मनसँग मन’ भारतका केही शहरमा प्रदर्शन भइसकेको छ, जहाँ दर्शकबाट सुखद् प्रतिक्रिया मिलेको थियो ।
अरुण तामाङ निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । यसअघि नै फिल्मको २ वटा गीत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ । आगामी मंसिर २५ गतेबाट भारतका दिल्ली, गुजरात, आसामलगायतका शहरमा फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।