गगनलाई भोट माग्दै प्रदीप खड्काले भने-उहाँ भावी प्रधानमन्त्री

यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावमा होमिएको देखिन्छ । यो मामिलामा प्रदीप खड्का एक कदम अघि देखिएका छन् । अर्बपति कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड अभिनेता खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै गर्दा भेटिए । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट समेत मागे । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारे ।
‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रुपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँपुस्ताले नै हो,’ प्रदीपले भने । सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कलाकार पनि होमिएका छन् ।