दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे

मङि्सर ०३, २०७९


दाङ,३ मंसिर ।
दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिककृत नारायण भण्डारीका अनुसार दाङका ४ सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।“शान्तिनगर र बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिएपनि त्यहाँ पनि हिजै कर्मचारी पठाई सकेका छौं”,उहाँले भन्नुभयो“सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाई सक्नु भएको छ ।” कर्मचारी संग–संगै आबश्यक सामग्री पनि पठाई सकिएको उहाँको भनाई छ । सबै सामग्री पनि पुगेकाले आज(शनिबार) मतदान केन्द्र निर्माण गर्ने कार्य हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटाईएको छ । सोही अनुसार दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरि ३ हजार ७ सय २० जना कर्मचारी खटाईको हो । साथै मतदान केन्द्रको सुरक्षा ब्यबस्था पनि कडा बनाईएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आबश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरि तयारी गरिएको छ । जिल्लाका मतदान स्थलहरुमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको छ । साथै आबश्यक परेको खण्डमा नेपाली सेना समेत परिचालन गर्ने तयारी गरिएको छ । अहिले ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दाङमा तीन वटा निर्वाचन क्षेत्रमा १५३ वटा मतदान स्थल छन् । जिल्लामा प्रतिनिधिसभाकालागि ३३ जना उम्मेदवार छन्, भने प्रदेशसभाकालागि ४३ उम्मेदवार छन् । यस पटक जिल्लामा ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यकालागि आईतबार देशभर मतदान हुनेछ । दाङमा आईतबार साँझदेखि नै मतगणना गर्ने तयारी गरिएको छ ।