फिल्म निर्देशक, निर्माता तथा कलाकार रोज राणा प्यूठान क्षेत्र नं.२ प्रदेशसभामा विजयी
प्यूठानबाट प्रदेशसभामा फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा (सरोज थापा) विजयी भएका छन् । प्यूठान प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका राणा आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा १ हजार ७१२ मत अन्तरले विजयी भएका हुन् । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए । उनी प्यूठान क्षेत्र नं. २ को क्षेत्रिय सभापति समेत हुन् ।
प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् । पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो । तर, रोजले नै बोर्ड जाने इच्छा देखाएनन् ।
रोजले ‘दादागिरी’ बाट फिल्म निर्माणमा हात हालेका थिए । त्यसपछि उनले ‘डन’, ‘खलनायक’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’ लगायतका फिल्म बनाए । यी फिल्ममा उनको अभिनय पनि छ । फिल्म ‘जय पशुराम’ बाट निर्देशनमा समेत हात हालेका उनले पछिल्लो पटक फिल्म ‘मेरो पैसा खोइ रु’ को निर्माण तथा निर्देशन गरेका थिए । चाँडै उनी ‘खलनायक २’ बनाउने तयारीमा छन् ।