स्पेनलाई हराउँदै एसियायी पावरहाउस जापान अन्तिम १६ प्रवेश ,जर्मनी समूह चरणबाटै बाहिरियो 

मङि्सर १६, २०७९


मंसिर १६ । एसियायी पावरहाउस राष्ट्र  जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा १ पटकको विश्व च्याम्पियन स्पेनलाई २-१ गोलले हराउँदै जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

समूहमा जापानले ६ अंक जोड्न सफल भयो। यसअघि जापानले समूहमा जर्मनीलाई पनि हराएको थियो। कोस्टारिकासँग भने जापान पराजित भएको थियो।

यता जापानसँग पराजित भए पनि स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो। 

पहिलो खेलमा कोस्टारिकालाई हराएको स्पेनले दोस्रो खेलमा जर्मनीसँग बराबरी खेलेको थियो। पहिलो खेलमा कोस्टारिकालाई ७-० गोलले हराएकाले स्पेन गोलअन्तरमा चार गोलले अघि रह्यो।

चार अंक जोडेको स्पेनले जर्मनीलाई गोलअन्तरमा पछि पार्‍यो। अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलले हराए पनि चार अंक नै जोडेको जर्मनी भने स्पेनसँग गोलअन्तरमा पछि पार्दै बाहिरियो।

पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्पेनसँग बराबरी खेलेको थियो।

अन्तिम खेलमा कोस्टारिकालाई हराए पनि ४ पटकको विश्व च्याम्पियन जर्मनीलाई अन्तिम १६ मा पुग्न पर्याप्त हुन सकेन।