‘महापुरूष’ प्रदर्शनको गौरवमय ५१ औँ दिन पूरा

पुष ०२, २०७९


काठमाडौ । हिट निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको गौरवमय ५१ औँ दिन पुरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिवार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, किर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलको केएलटावरमा रहेको एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१ औँ दिन पुरा भएको छ । फिल्मले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्न समेत सफल भएको छ ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले सफलतासँगै दायित्व थपिएको बताए । ‘मसँगै फिल्मकर्मीलाई सामाजिक संदेश भन्न समेत उर्जा मिलेको छ । यसले नेपालसँगै अमेरिकाको डलासमा समेत ५१ औँ दिन पुरा गर्दैछ’, निर्देशक भट्टराईले भने । भट्टराईको डेब्यु फिल्म जात्रासँगै शत्रु गते र जात्रै जात्राले समेत ५१ औँ दिन पार गरेको थियो । उनी लगातार चौथोपटक दर्शकसँगै घरेलु बक्स अफिसमा सफल निर्देशक बनेका छन् ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म गत डिसेम्बर १ देखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।