शोभितको चलचित्र ‘जय हो’ लाई टेकले एक्सन-कट गर्ने

पुष ०५, २०७९


काठमाडौ । सफल एवं पुराना चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतको नयाँ प्रोजेक्ट ‘जय हो’ लाई टेक पौरखी राईले निर्देशन गर्ने भएका छन् । सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राई बीच लिखित सम्झौता भएको हो। निर्देशक राई एक कुशल चित्रकार हुन् । उनले कोरेका चित्र/तस्विरहरु विश्वव्यापी रुपमा बिक्रि हुने गरेका छन् ।

चलचित्रमा सलोन बस्नेतको प्रमुख भुमिका रहनेछ । सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने चलचित्रलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । एक्सन लभस्टोरी चलचित्रमा सागर आले मगरले संगीत भर्नेछन् । सागर ‘नेपाल आइडल – सिजन १’का थर्ड रनरअप हुन् ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । चलचित्रमा राम्जी राउत क्रियटिभ निर्देशकको रुपमा रहनेछन ।