बच्चाबच्ची र फिल्म सँगसँगै आउन सक्छन् : अभिनेत्री रेखा थापा

पुष १७, २०७९


अभिनेत्री रेखा थापा राजनीतिसँगै फिल्ममा पनि सक्रिय हुने तयारीमा छिन् । आगामी फागुन र वैशाखमा उनका दुई फिल्म छायांकनको तयारीमा छन् । ‘ह्यारीकी प्यारी’ को गीत सार्वजनिक कार्यक्रममा मिडियासँग कुरा गर्दै रेखाले ती दुई फिल्मपछि मात्र आफू आमा बन्ने बताइन् । आगामी असोजमा फिल्म रिलिज हुने उनको भनाइ छ ।

सन्तान र फिल्म सम्भवतः सँगै आउन सक्ने उनले बताइन् । हामी फिल्मको तयारीमा पनि छौं । जहाँसम्म बच्चाबच्चीको कुरा छ, त्यो भगवानले चाहे हुन सक्छ । यसरी बुझ्नुस न, भाञ्जाभान्जी र फिल्म सँगसँगै आउने तयारीमा छन्, रेखाले भनिन् । चुनावमा पार्टी उम्मेदवार बनेकाले उनी राजनीतिको चटारोमा व्यस्त थिइन् ।

अहिले भने केही फुर्सदिलो भएकाले रेखाको ध्यान फिल्म निर्माणतर्फ सोझिएको छ । रेखा पछिल्लोपटक आर्यन सिग्देलसँग ‘रुद्रप्रिया’ मा देखिएकी थिइन् । कपिल रिजालले निर्देशन गरेको फिल्म ह्यारीकी प्यारीमा रेखाले केमियो भूमिका निर्वाह गरेकी छन् । बिहीबार सार्वजनिक भएको फिल्मको गीत ‘धरहरा’ मा उनले कम्मर मर्काएकी छन् ।