मेरो फिल्ममा खेल्ने इच्छा छ कि छैन ? प्रश्न निश्चलको स्वस्तिमालाई ।

पुष १९, २०७९


‘आदर्श जोडी’ को रुपमा चिनिएका निश्चल बस्नेत र स्वस्तिमा खड्काबीच निरन्तर रुपमा व्यवसायिक सहकार्य हुँदै आएको छ । यो जोडी कहिले फिल्ममा त कहिले म्यूजिक भिडियोमा एकसाथ देखिने गरेको हुन्छ । उनीहरुलाई फिल्म र म्यूजिक भिडियोमा लिन चाहनेको संख्या ठूलो छ । तर, दुवै चित्त नबुझ्नेसम्म काम गर्दैनन् । म्यूजिक भिडियोमा गीत, फिल्ममा पात्र र टिम राम्रो खोज्छन् ।

फिल्म ‘घामड शेरे’ मा पहिलो पटक एकसाथ काम गरेका निश्चल र स्वस्तिमाको अब कहिले र कुन प्रोक्जेक्टमा सहकार्य हुन्छ, स्पष्ट चित्र देखिसकेको छैन । निश्चलले निर्देशन गर्न लागेको नयाँ फिल्ममा स्वस्तिमाले काम गर्न सक्ने चर्चा छ । तर, स्वस्तिमालाई चाहिँ श्रीमान् बस्नेतले निर्देशन गर्ने फिल्ममा अभिनय गर्ने इच्छा छ कि छैन होला रु धेरैलाई यो चासो र जिज्ञासाको विषय पनि हुनसक्छ ।

स्वस्तिमाले सञ्चालन गर्दै आइरहेको ‘नेपाल्स् ट्वान्टिवन सेन्चुरी वुमन’ नामक शोमा अतिथी बनेर पुगेका निश्चलले उनलाई यही प्रश्न गरेका छन् । जवाफमा उनले अहिलेसम्म इच्छा नलाग्नुको कारण निश्चल बस्नेतले फिल्म नै नबनाएर रहेको बताएकी छन् । फिल्म अफर आएको खण्डमा काम गर्न इच्छा जाग्न सक्ने उनको भनाई छ । उनले निश्चललाई राम्रो निर्देशक भन्दै प्रशंसा पनि गरिन् ।

उनले भनेकी छन्, ‘निश्चलको श्रीमती वा अभिनेत्री भएका कारण मात्र फिल्म गरुँ न त भन्ने हिसाबले काम गर्दिनँ । एकजना कास्ट चाहियो स्वस्तिमालाई लिउँ न भनेर तपाईंले पनि मलाई कास्ट गर्नुहुन्न र मैले पनि गर्दिनँ । हामी कुन तरिकाले काम गर्छौं दुवैलाई एकअर्काको स्वभाव थाहा छ । स्वस्तिमाले काम गर्ने वा नगर्ने भन्दा पनि पहिला फिल्म बनाउन निश्चललाई आग्रह गरेकी छन् ।