चलचित्र पत्रकारलाई लाग्यो चुनाव, अध्यक्षमा ७ जना आकांक्षी

माघ १८, २०७९


आगामी फागुन र चैतमा नेपाली फिल्म क्षेत्रका तीन संस्थाहरु नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गएपछि तीनवटै संस्थाका सदस्यहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । यी तीनवटै संस्थामा अध्यक्ष पदमा रोचक प्रतिस्पर्धा हुने छनक देखिएको छ ।

चलचित्र पत्रकारहरुको संस्था चलचित्र पत्रकार संघ नेपालको आगामी फागुन १७ गतेलाई तोकिएको महाधिवेशनका लागि अध्यक्ष पदमा मात्र अहिलेसम्म ७ जना आकांक्षी छन् । निर्वतमान अध्यक्ष सन्दीप सापकोटा, पूर्व कोषाध्यक्ष राजन घिमिरे, पूर्व उपाध्यक्ष विष्णु सुवेदी, पूर्व महासचिव समिर बलामी, डब्बु क्षेत्री, दयाराम पाण्डे र पूर्व सदस्य उत्सव रसाइली अध्यक्ष पदका आकांक्षी हुन् ।

अहिलेसम्म अध्यक्ष पदमा कसैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । तर, ७ जना आकांक्षी आन्तरिक कसरतमा जुटिसकेका छन् । उत्सवले गत महिना नजिकका साथीबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । राजन घिमिरेले यसै साता उम्मेदवारी घोषणा गर्दैछन् । सन्दीप सापकोटाले पुन: एकपटक अध्यक्षमा उठ्ने गरी भित्री तयारी गरिरहेको स्रोत बताउँछ ।

डब्बु क्षेत्री भने सर्वसम्मत भए मात्र अध्यक्षमा आउने योजनामा बसेका छन् । तर, अध्यक्षमा आकांक्षी धेरै भएकाले सर्वसम्मतको सम्भावना देखिन्न । उता दयाराम पाण्डेले अध्यक्षमा उठ्ने गरी अग्रज र अनुज पत्रकारहरुसँग छलफल गरिरहेको जानकारीमा छ । विष्णु सुवेदी पनि यतिबेला अध्यक्षमा उठ्ने गरी आन्तरिक कसरतमा व्यस्त छन् । त्यस्तै, समिर भने पर्ख र हेरको अवस्थामा छन् ।

संघको कार्यक्रम उपाध्यक्षमा विजय सुवेदी (आवाज)को नाम चर्चामा छ । अहिलेलाई यो पदमा उनीबाहेक अरु आकांक्षी देखिएका छैनन् । संगठन उपाध्यक्षतर्फ अशेष अधिकारी, कुवेर गिरी, सुशील पौडेल, विशाल हसन राई उठ्ने चर्चा छ । महिला उपाध्यक्षमा सुरक्षा भट्टराई र शारदा थापाबीच प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । तर, उम्मेदवारी भने कसैले पनि घोषणा गरिसकेका छैनन् ।

अध्यक्षपछि ‘हेभिवेट’ भिडन्त महासचिव पदमा हुने देखिन्छ । संघभित्र बलियो पकड बनाएका प्रदीप कार्की र रघुनाथ सापकोटा महासचिवमा उठ्दैछन् । कार्की संघका वर्तमान कोषाध्यक्ष हुन् भने सापकोटा सचिव हुन् । दुवैले आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक कसरत थालिसकेका छन् । त्यस्तै, सचिव पदमा नविन गिरी, गोपीकृष्ण चापागाईं र मिलन ढुंगानाको नाम चर्चामा छ ।

समावेशी सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा मनिष कार्की, मनोज न्यौपाने, कुमार आचार्य, सहकोषाध्यक्षमा सिपी जैसी र मनिष अन्जानबीच प्रतिस्पर्धा हुन सक्नेछ । सदस्यमा अनुप भट्टराई, सुरेन्द्र थापा, नविन कार्की, पवन भट्टराई, महिला सदस्यमा सुष्माश्री कार्की र सरिता भारती उठ्दैछन् । चुनावसम्म अध्यक्षदेखि सदस्यसम्मको समिकरणमा कायापलट हुने सम्भावना पनि देखिन्छ ।